काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्ड म्युचुअल स्किम) संचालनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले धितोपत्र बजारमा सामूहिक लगानी कोष अन्तर्गत खुलामुखी म्युचुअल स्किमलाई समेत प्रवेश गराउने उद्देश्य अनुरुप एनआईबिएल क्यापिटललाई उक्त अनुमति प्रदान गरेको हो ।
बोर्डले एनआईबिएललाई ५० करोड रुपैयाँ बराबरको प्रयोगात्मकरुपमा पहिलो खुलामुखी सामूहिक लगानी योजना संचालन गर्न अनुमति प्रदान गरेको हो । उक्त योजना अन्तर्गत पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाइहरु सार्वजनिक निष्काशनको माध्यमबाट बिक्री खुल्ला गर्न पाईने छ । उक्त स्किम अन्तरगत म्युचुअल फण्डले दैनिक रुपमा खुद सम्पती मूल्य (एनएएस) सार्वजनिक गरेर कारोबार गर्नुपर्ने हुन्छ ।
सामूहिक लगानी कोष नियमावली लागू भए पश्चात बोर्डले हालसम्म करिव १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना (क्लोज इण्ड म्युचुअल फण्ड स्किम) संचालनका लागि अनुमति प्रदान गरेको छ । हाल बोर्डले धितोपत्र बजारमा नयाँ वित्तीय औजारको रुपमा खुलामुखी सामूहिक लगानी कोष योजना संचालन गर्न अनुमति प्रदान गरेको जानकारी दिएको छ ।
खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र यसबाट लगानीकर्ताहरुले लगानी विविधीकरण गर्न सहयोग बोर्डको अपेक्षा रहेको छ । साथै धितोपत्रबजारमा नयाँ आयाम थप हुने र हाल अन्य खुलामुखी योजना समेत आउने क्रममा रहेकोेमा यसबाट बजारको दायरा फराकिलो हुने समेत बोर्डको भनाई छ ।
यस्ता छन् खुलामुखी म्युचुअल फण्डका बिशेषताहरु :-
. बन्दमुखी योजना जस्तो खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने ।
. योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने ।
. खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने ।
. लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने ।
. बन्दमुखी योजना जस्तै खुला मुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम १००० रुपैयाँ सम्ममा इकाई खरीद गर्न सकिने ।
. लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार वृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने ।