Logo

के सेयर बजारमा कालोधन भित्रीएकै हो ?, यस्तो छ बजार बढ्नुको भित्री कारण !

के सेयर बजारमा कालोधन भित्रीएकै हो ?, यस्तो छ बजार बढ्नुको भित्री कारण !



काटमाठौं । लामो समय सामान्य कारोबार हुँदै स्थिर जस्तै रहेको नेपालको पूँजी बजारमा एकाएक छलाङ् आएको छ । बजारमा नेप्से परिसुचक र कारोबार रकम समेत उच्च हुँदा त्यसले लगानीकर्तालाई उत्साहित बनाएको छ ।


दैनिक ८÷१० अंकको घटवढ हुँदै २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने नेपाली पूँजी बजारमा दोहोरो अंकको वृद्धि हुँदै गत हप्ताको अन्तिम दिन १ अर्ब ३५ करोड रुपैयाँको कारोबार भयो । सामान्य कारोबार भएको सेयर बजारमा पछिल्लो एक हप्तामा अस्वभाविक वृद्धि भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।


गत हप्ता दैनिक जसो १ अर्ब रुपैयाँको हाराहारीमा सेयर खरिदबिक्री हुन पुग्यो । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकमको अवभाव भइरहेको बताईरहँदा बजारमा दैनिक १ अर्ब रुपैयाँभन्दा बढी सेयर खरिदबिक्रीका लागि पैसा आउनाले लगानीकर्तामा उत्साह र शंका दुबै पैदा गरेको छ ।


नेपालमा पूँजीबजार लगानीकर्ता सम्बन्धी संघसंस्थाले पूँजी बजार विकास र वृद्धिका लागि पटक पटक नियामकलाई चेतावनी दिँदै धर्ना तथा अनसन बस्दै आएका छन् । जसरी भएपनि बजार बढ्नै पर्ने उनीहरुको माग छ । तर, लगानीकर्ताको धर्ना तथा अनसनका बावजुत पनि नबढेको बजारमा पछिल्लो २ हप्तामा उछाल आएको छ ।


पछिल्लो समय नेपाली पूँजी बजारमा भारतीय लगानीकर्ताको प्रवेश गरेका कारण बजार उच्च बढ्न पुगेको एक ब्रोकरले जानकारी दिए । ‘नेपाली लगानीकर्ताको पूँजी बजार सुधारका नाममा भएको विभिन्न धर्ना तथा हड्तालले गर्दा पूँजी बजारमा लगानी भित्र्याउन सहज भएको छ,’ ती ब्रोकरले भने, ‘त्यसैलाई अबसरको रुपमा प्रयोग गर्दै भारतीय लगानीकर्ताले नेपालमा ‘ब्ल्याक मनी’ (स्रोत नखुलेको रकम) भित्र्याएर पूँजी बजारमा लगानी गर्न सुरु गरेका छन् ।’


केही समय अघिसम्म नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा ब्ल्याक मनी भित्रन नदिन सेयर बजारमा हुने कारोबारको छानविन सुरु गरेको थियो. । तर, लगानीकर्ताहरु त्यसको विरोधमा उत्रिएपछि बोर्ड पछि हटेको थियो । तत्कालिन समयमा अर्थ मन्त्रालयले पनि पूँजी बजारमा नकारात्म प्रभाव परेको भन्दै उक्त छानविनलाई रोक्न बोर्डलाई निर्देशन नै दिएको थियो । अहिले त्यसैको फाइदा उठाउँदै भारतीय लगानीकर्ताहरु नेपालीलाई प्रयोग गर्दै सेयर बजारमा प्रवेश गरेको एक लगानीकर्ताले जानकारी दिए ।
अहिले भारतमा भइरहेको चुनावका लागि खर्च जुटाउनका लागि पनि नेपालको सेयर बजारलाई प्रयोग भइरहेको सम्बद्ध स्रोतको भनाई छ । भारतको निर्वाचनमा ठूलो रमक खर्च हुने अनुमान गरेका छन् । सन् २०१४ मा भएको भारतको निर्वाचनमा ५ खर्ब भारु खर्च भएको थियो । अहिले त्यसमा थप ४० प्रतिशत बढि रकम खर्च हुने अनुमाग गरिएको छ । जसको लागि भारतीयहरुले आफ्नो कालोधनलाई नेपालको पूँजीबजारमार्फत प्रशोधित गरी लैजान सुरु गरेका समेत एक लगानीकर्ताले जानकारी दिए ।


विशेषगरी दोहोरो नागरिकता (नेपाली नागरिकता) बोक्ने भारतीय नागरिक र केही नेपालीलाई नै प्रयोग गरी सेयर बजारमार्फत व्ल्याक मनीलाई ह्वाईट मनी बनाउने काम भइरहेको उच्च स्रोतको दावी छ । ‘विभिन्न दबाबका कारण अहिले नेपालमा ब्ल्याक मनी प्रशोधित गर्ने सबैभन्दा सरल र सहज तरिका भनेको सेयर बजार नै हो,’ उक्त स्रोतले भन्यो, ‘त्यसैको फाइदा उठाउँदै भारतीय लगानीकर्ताहरु नेपालमा प्रवेश गरी ब्ल्याक मनी प्रशोधन गर्ने काम गरिरहेका छन् ।’ जसले गर्दा पछिल्लो १ हप्तामा अप्रत्यासित रुपमा बजारमा कारोबार बढ्न गएको उक्त स्रोतको भनाई थियो ।


पछिल्लो समय भारतीय राजनीतिक दलले आफ्नो पैसा शुद्धिकरण गर्नका लागि नेपालमा राजनीतिक दलका नेता तथा अन्य व्यवसायीलाई प्रयोग गर्दै आएको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘अलिहे पनि भारतका ठूला नेताहरुले आफ्नो क्यापमा नेपालीलाई राखेर काम गर्दै आएका छन्,’ उक्त सोतले भन्यो, ‘उनीहरुले तीनै नेपालीलाई प्रयोग गरेर नेपालमा चलखेल गर्छन जसको फलस्वरुप उनीहरुले ब्ल्याक मनीलाई नेपालको पूँजी बजारमार्फत शुद्धिकरण गरेर भित्र्याईरहेका छन् ।’ भारतीय राजनीतिक दलका नेता तथा लगानीकर्ताले आफ्नो ब्ल्याक मनीलाई शुद्धिकरण गरेर चुनावी खर्चका लागि भित्र्याउनकै लागि नेपालको पूँजी बजारलाई एकाएक बढाएर पैसा लैजाने काम गर्दै आएका हुन् ।


यसभन्दा अघि पनि दोहोरो नागरिकता बोक्ने केही नेपालीले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) र बम्बे स्टक एक्स्चेञ्ज (बीएसई) मा लगानी गरेका कारण नेपालको पूँजी बजारमा समय समयमा उच्च उतारचढाव अएको नेपाली लगानीकर्ताले बताउँदै आएका थिए । उनीहरुले नेप्से ओराले लागे बीएसई र बीएसई ओरालो लाग्दा नेप्सेमा लगानी गर्दै आएका छन् । अहिले बीएसईमा गिरावट आएका कारणले पनि त्यस्ता लगानीकर्ताहरु नेपालको पूँजी बजारमा प्रवेश गरेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

गत हप्ता सम्पती शुद्धिकरण अनुसन्धान विभागले पनि भारतीय नागरिकले नेपालको पूँजी बजार र घरजग्गामा कालोधन भित्र्याएको भन्दै विशेष अदालतमा मुद्ध दायर गरेको थियो । भारतीय लगानीकर्ताले हिमालयन कार्गो नेपालको नाममा २३ करोड ९५ लाख स्रोत नखुलेको रमक भित्र्याएर नेपालको पूँजी बजार र घरजग्गामा लगानी गरेको पत्ता लगाएको थियो । नेपालको सेयर बजारमा दोहोरो नागरिकताधारी तथा केही नेपाली व्यवसायीलाई प्रयोग गर्दै भारतीयले लगानी गर्दै आएको सम्बद्ध लगानीकर्ताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL