Logo

निस्सानका पूर्व प्रमुखलाई धरौटीमा रिहा गर्न आदेश, ४५ लाख डलर धरौटी तिर्दै

निस्सानका पूर्व प्रमुखलाई धरौटीमा रिहा गर्न आदेश, ४५ लाख डलर धरौटी तिर्दै



काठमाडौं । जापानी गाडी कम्पनी निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई टोकियोको एक अदालतले धरौटीमा रिहा गर्ने आदेश बिहीबार दिएको छ ।

उनलाई कर्पोरेट कोषहरूको रकम हिनाविना गरेको आरोपमा यस हप्तासहित अनुसन्धानका लागि चौथो पटक पक्राउ गरिएको थियो ।

टोकियोको एक जिल्ला अदालतले निस्सानका पूर्वप्रमुख गोउनलाई ४५ लाख अमेरिकी डलर बराबरको धरौटीमा रिहा गर्न आदेश दिएको थियो । गोउन, ६५, ले धरौटी रकम जम्मा गरी रिहा भएका छन । उनको मुद्दा जापानी अभियोजनकर्ताहरूको आग्रहमा अदालतमा दोस्रो पटक विचाराधिन अवस्थामा स्थगित गरिएको छ ।

गोउनमाथि लगाइएका अन्य आरोपमाथिको अनुसन्धान तथा सुनुवाईपछि अदालतले राखेका विभिन्न १५ शर्तसहित झण्डै ९० लाख अमेरिकी डलर धरौटी बुझाई मार्चमा रिहा गरिएको थियो ।

पूर्वप्रमुख गोउनले जापान छोड्न नपाउने, मोबाइल तथा कम्प्युटरको सीमित पहुँचमा रहने, निवासमा रहँदा क्यामेराको निगरानीमा रहने र उक्त मुद्दामा सम्लग्न रहेका भनिएका निस्सानका अधिकारीसँग सम्पर्क गर्न नपाउने लगायतका शर्त पालना गर्दै आएका छन ।

सन् २०१८ को नोभेम्बर १९ मा पहिलोपटक पक्राउ परेका निस्सानका पूर्वप्रमुख कार्लोस गोउनलाई १ सय ८ दिन पछि धरौटीमा रिहा गर्न जापानी अदालतले गत महिना आदेश गरेपछि एक अर्ब जापानी यन धरौटिमा रिहा गरिएको थियो । आर्थिक अनियमितता तथा कम्पनीमाथि विश्वासघात गरेको आरोपमा पक्राउ परेका गोउनले जेल पर्नुपहिले प्राय सानदार सुट, सर्ट र टाईमा हिँड्ने गरेपनि गतमहिना जेलबाट रिहा हुँदा सुन्तला रङको अनौपचारिक पहिरनमा बाहिरिएका थिए ।

करिब पाँच लाख व्यक्तिलाई रोजगारी दिँदै आएको जापानी कार कम्पनी निस्सानले सन् २०१७ मा विश्वभर रहेका आफ्ना कम्पनीमार्फत करिब एक करोड ६ लाख गाडीको विक्री गरेको थियो । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनलाई पहिलो पटक गत पुसमा टोकियो अदालतमा उपस्थित गराइएको थियो । अदालतमा बयानका क्रममा उनले आफू निर्दोष रहेको र कुनै अपराध नगरेको दाबी गरेको अदालतले जनाएको छ ।

सरकारी वकीलहरुले गोउनमाथि कम्पनीको झुटो वित्तीय प्रतिवेदन तयार गरेको आरोप लगाएका छन् । उनीमाथि खासगरी सन् २०१५ देखियता पाँच वर्षको अवधिमा तलब बापत लिएको करिब ४ करोड ४० लाख अमेरिकी डलरलाई कम्पनीको वित्तीय विवरणमा समावेश नगरेको आरोप छ । वकीलहरुले वित्तीय संकटका कारण निस्सानमा गरेको लगानीमा हुने जोखिमलाई विचार गरेर गोउनले आफूलाई सुरक्षित बनाएको आशङ्का पनि गरेका छन ।

फ्रान्सेली नागरिक भएपनि उनले निस्सानको व्यवसायिक सङ्कटका समय कम्पनीका उत्पादनलाई चीन, रुस, ब्राजिल र भारतसम्म विस्तार गरेको तथा विद्युतीय कार र स्वचालित ड्राइभिङ जस्ता नवीन प्रविधि प्रयोगमा ल्याएका थिए । केही वर्षयता निस्सान कम्पनीमा फ्रान्सेली कार उत्पादक रेनल्टले पनि सेयर लगानी गरेको छ । हाल निसानमा रेनल्टको ४३ प्रतिशत हिस्सा छ भने रेनल्टमा निसानको १५ प्रतिशत सेयर छ । राससएएफपी

प्रतिक्रिया दिनुहोस्