Logo

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै, ताईवानी उत्पादनको बारेमा छलफल

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउँदै, ताईवानी उत्पादनको बारेमा छलफल



काठमाडौं । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरु सम्मिलित सो प्रतिनिधिमण्डलले यही बैशाख ५ गते विहिवारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलको दरबार हलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

आयोजकको तर्फबाट उक्त अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्ताहरुलाई आव्हान गरिएको छ । यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यवसायीहरुका लागि ताइवानी उत्पादक तथा आपुर्तिकर्ताहरुसँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुनसक्ने आयोजकको विश्वास छ ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्य पदार्थ तथा जुस, स्टील पाता तथा कोइलालगायतका सामाग्रीहरुको उत्पादनका विषयमा छलफल गरिनेछ । यस्तै उक्त भेटघाटमा एलईडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सीसीटीभि क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका बिषयमा छलफल गर्न सकिने कुरा आयोजकका तर्फबाट नेपालका लागी सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिएका छन ।

नेपाली व्यवसायीहरुले आफ्नो रुचि अनुसार सम्बन्धित ताइवानी व्यवसायीहरुसँग भेटघाट गरी व्यापारिक समझदारी स्थापना गर्नसक्ने अवसर रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्