काठमाडौं । लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक यो हप्ताको पछिल्लो दुई दिन दोहोरो अंकले उकालो लागेको छ ।
बुधबार करिब दोहोरो अंकले बढेको नेप्से परिसुचक अन्तिम दिन १६ अंकले उकालो लागेको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ ।
सामान्यतय दैनिक २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुने बजारमा बिहीबार करिब २९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । सो दिन १ सय ७६ कम्पनीको ११ लाख १४ हजार कित्ता सेयर कारोबार भएको छ ।
बजारमा भर्खरै मात्र लाभांस घोषणा गरेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । सो दिन नेपाल लाईफको सेयर प्रतिकित्ता ३२ रुपैयाँले बढ्दै सबैभन्दा बढी १ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसैगरी बजारमा लगानीकर्ताहरुको आकर्षणमा माथिल्लो तामाकोशीको सेयर पनि पर्न पुगेको छ । दैनिक जसो ओरालो लागेको तामाकोशीको सेयर बिहीबार प्रतिकित्ता ४ रुपैयाँले बढ्दै १ करोड २८ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।
बिहीबार उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा जीवन बीमा समुहको परिसुचक १ सय ५९ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको परिसुचक १ सय ५ अंकले उकालो लागेको छ ।
यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १३ दशमलव ९२ अंकले उकालो लागेको छ भने विकास बैंक समुहको परिसुचक १८ अंकले बढेको छ । बजारमा जलविद्युत, माइक्रोफाइनान्सलगायतका परिसुचकहरु पनि दोहोरो अंकले उकालो लागेका छन् ।