काठमाडौं । बैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य चाहिने भएको छ । लगानीकर्ताहरु प्यान नम्बरको विरोधमा उत्रिएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज निर्देशन जारी गर्दै बैशाख १ गतेदेखि प्यान अनिवार्य गरिने बताएपछि कार्यान्यनमा आउने पक्का भएको हो ।
बैंशाखदेखि दोस्रो बजारमा सेयर खरिदबिक्री गर्नका लागि प्यान नम्बर लागू गर्न सोका लागि लागनीकर्तालाई सहजीकरण गर्न नेप्सेले ब्रोकरहरुलाई प्यान सहजीकरण डेस्क स्थापना गर्न निर्देशन दिएको छ । साथै लगानीकर्तालाई आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिनका लागि सहजीकरण गरिदिन छुट्टै कर्मचारीको समेत व्यवस्था गर्न नेप्सेले निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले यस अघि नै २०७६ बैशाख १ गतेदेखि धितोपत्रको दोस्रो बजार मार्फत सेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य हुने गरि लागू गर्न आवश्यक पुर्व तयारी गर्न नेप्सेलाई निर्देशन दिएको थियो । सोही अनुरुप आज ब्रोकरहरुलाई प्यान सहजीकरण डेस्क राखेर काम गर्न निर्देशन दिईएको नेप्सेले जानकारी दिएको छ ।
यस अघि विभिन्न लगानीकर्ता संघहरु सेयर कारोबारमा प्यान नम्बर लगाउन नहुनेभन्दै नेप्से र बोर्डमा बिरोध गर्न गए भने अर्थ मन्त्रालयमा तत्काल लागू नगरिदिन गुहार माग्न पुगेका थिए । केही लगानीकर्ताका नेताहरु आफ्नो हैसियतले भ्याएसम्म विभिन्न राजनीतिक दलका नेतालाई समेत गुहार्न पुगेका थिए । तर, प्यान नम्बरका विषयमा अर्थ मन्त्रालय र धितोपत्र बार्ड अडिक रहेपछि बैशाखबाट कार्यान्यनमा आउने पक्का भएको हो ।