काठमाडौं । सरकारले सेयर लगानीकर्ता सम्बन्धी खुलेका विभिन्न संघसंस्थाका नेताहरुको सेयर कारोबार बिवरण छानविन गर्ने भएको छ । पछिल्लो समय लगानीकर्ताको हकहितभन्दा पनि व्यक्तिगत स्वार्थका लागि धेरैवटा संघसंस्था खुलेको र त्यस्ता व्यक्तिमार्फत शंकास्पद कारोबार भइरहेको आशंकामा कारोबार बिवरण छानविन गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सेयर कारोबार विवरण अनुसन्धान गर्नका लाग अर्थ मन्त्रालयले आफु मातहतका निकायहरुलाई निर्देशन दिईसकेको समेत सम्बद्ध स्रोतले जानकारी दिएको छ । विशेषगरी एउटै व्यक्तिले आफ्नो व्यक्तिगत खाताबाट बार्षिक १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको र उनीहरुले आफु बच्नका लागि विभिन्न संघसंस्था खडा गरी आन्दोलनमा उत्रिन थालेपछि अर्थ मन्त्रालयले कारोबार विवरण छानविन प्रक्रिया अघि बढाएको हो ।
पछिल्लो समय अर्थ मन्त्रालयले लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेता र शंकास्पद सेयर कारोबारको विवरण उपलब्ध गराउन निर्देशन दिएको एक ब्रोकरले जानकारी दिए । ‘हामीलाई अर्थ मन्त्रालयले सेयर कारोबारको विवरण पठाउँन निर्देशन दिएको छ,’ एक ब्रोकरले भने, ‘त्यसमा सबैभन्दा बढी चासो लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेतृत्व गर्ने व्यक्तिहरु माथी रहेको छ ।’
नेपालमा सेयर लगानीकर्ताको हकहितका लागि भन्दै च्याउसरी संघसंस्था खडा भएका छन् । विश्वका कुनै पनि मुलुकमा लगानीकर्ता सम्बन्धी संघसंस्था नभएकोमा नेपालमा करिव आधा दर्जन त्यस्ता संस्था खुल्नु रहस्यमय बन्दै गएको छ ।
सुरुमा नेपालीकर्ताको हकहितका लागि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का पूर्व महाप्रबन्धक सिताराम थपलियाको नेतृत्वमा नेपाल इन्भेष्टर्स फोरम स्थापना भएको थियो । तर, अहिले सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजी बजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र सेयर लगानीकर्ता दबाब समुह जन्मिएका छन । यसरी खुलेका लगानीकर्ता संघसंस्थाले लगानीकर्ताको हकहित भन्दा पनि अनावश्यक माग र आन्दोलनमा केन्द्रित हुन थालेपनि सरकारले उनीहरुप्रति निगरानी बढाएको हो ।
यसैगरी अर्थले ब्रोकरहरुलाई पनि निगरानीमा राखेको छ । सेयर बजारमा शंकास्पद कारोबार हुन थालेको निष्कर्ष निकाल्दै ब्रोकरलाई पनि निगरानीमा राखिएको अर्थ स्रोतले जानकारी दिएको छ ।