Logo

दोस्रो बजारमा सेयर कारोबार गर्न ‘प्यान नम्बर’ अनिवार्य, यस्तो बन्दैछ मोडालिटी

दोस्रो बजारमा सेयर कारोबार गर्न ‘प्यान नम्बर’ अनिवार्य, यस्तो बन्दैछ मोडालिटी



काठमाडौं । दोस्रो  बजारमा सेयर कारोबार गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिने भएको छ । दोस्रो बजारमा हुने सेयर कारोबारलाई नियनम गर्ने उद्देश्य अनुरुप दोस्रो बजारमा सेयर खरिदबिक्री गर्दा प्यान नम्बर अनिवार्य गर्न लागिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

हाल सेयर कारोबारमा प्यान नम्बर अनिवार्य गर्ने बिषय अन्तिम चरणमा पुगेको र अब तत्कालै कार्यान्वयनमा ल्याइने अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए । ‘दोस्रो बजारमा सेयर कारोबार गर्ने लागनीकर्ताका लागि प्यान नम्बर लागू गर्ने विषयमा आन्तरिक राजस्व विभाग र धितोपत्र बोर्डले समन्वय गरिरहेका छन्,’ उनले भने, ‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब तत्काल लागू गर्नेछौं ।’

मौजुदा व्यवस्था अनुसार १० लाखभन्दा बढीको प्राथमिक सेयरका लागि आवेदन दिँदा मात्र अबका दिनमा दोस्रो बजारमा कारोबार गर्नका लागि नै प्यान नम्बर अनिवार्य हुने भएको हो । तर, प्राथमिक सेयर आवेदकको लागि भने प्यान नम्बर अनिवार्य नहुने खत्रीले जानकारी दिए ।

अबका दिनमा दोस्रो बजारमा सेयर कारोबार गर्ने जोसुकैले पनि प्यान नम्बर अनिवार्य रुपमा लिनुपर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘अहिलेसम्म हामीले सेयर कारोबारमा प्यान नम्बर लगाएका थिएनौं,’ उनले भने, ‘अबका दिनमा बजारलाई व्यवस्थित गर्नका लागि सेयर खरिद तथा बिक्री गर्ने दुबैलाई अनिवार्य रुपमा प्यान नम्बर लगाउने छौं ।’

अबमा दिनमा आयोजना प्रभावित, स्थानीयहरुले आईपीओमार्फत खरिद गरेका सेयर बिक्री गर्नका लागि पनि प्यान नम्बर अनिवार्य हुने उनको तर्क थियो । ‘यदि उनीहरुले आईपीओमार्फत भरेका सेयर बिक्री नगरी राख्नुहुन्छ भने त्यसमा प्याननम्बरको कुनै आवश्यकता परेन,’ गिरीले भने, ‘तर, दोस्रो बजारमा बिक्री गर्न चाहनुुहन्छ भने प्यान नम्बर अनिवार्य हुनेछ ।’ उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै प्यान नम्बर नभई कसैले पनि सेयर खरिदबिक्री गर्न नसक्ने उनको दाबी थियो ।

सरकारले सेयर कारोबारका लागि अनिवार्य प्यान नम्बर लागू गरेमा तत्काल बजारमा १ देखि २ लाख लगानीकर्ता सोको दायरामा आउनेछन् । लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थामा बजार १५ लाख भन्दा लगानीकर्ता भएको बताउँदै आएपनि दैनिक वा मासिक रुपमा कारोबार गर्ने लगानीकर्ताको संख्या भने बढीमा २ लाख भएको सम्बद्ध ब्रोकरहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्