Logo

मान्छे कुटेर पनि बढाउन सकेनन् लगानीकर्ता सम्बन्धी संघसंस्थाले नेप्से, कहिले रोकिएला वियरिस ट्रेण्ड ?

मान्छे कुटेर पनि बढाउन सकेनन् लगानीकर्ता सम्बन्धी संघसंस्थाले नेप्से, कहिले रोकिएला वियरिस ट्रेण्ड ?



काठमाडौं । गतहप्ता लगानीकर्ता सम्बन्धी खुलेका विभिन्न ४ वटा संघले अनलाईन कारोबारले काम नगरेको भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा नाराजुलुसका कार्यक्रम आयोजना गरे । उनीहरुको आशय थियो नेप्सेको अनलाईन कारोबार प्रणालीले राम्रोसँग काम नगर्नु र विश्लेषकले अनबश्यक रुपमा बोलिदिँदा बजारमा गिरावट आयो ।

मंसिर १० गते नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र सेयर लगानीकर्ता संघले नेप्सेमा संयुक्त रुपमा नाराजुलुस निकाल्दै यस अघि बजार ९०० अंकमा झर्छ भनेर सेयर बजारको विश्लेषण गर्ने विष्णुप्रसाद वस्यालमाथी हातपात गरे । उनीहरुको आन्दोलमा प्रहरी पनि परिचालन गरेका कारण वस्याल ठूलो चोटपटक हुनबाट जोगिए ।

त्यससँगै उनीहरु ढुक्क भएकि भोलीपल्टबाट बजार उच्च रुपमा उकालो लाग्ने छ । तर, लगानीकर्ताको सोच विपरित बजार लगातार दोहोरो अंकमा ओरालो लाग्न पुग्यो । बजारले १८०० अंकबाट वियरिस ट्रेड समायसँगै अझै आफ्नो तल्लो विन्दुमा पुग्न सकेको छैन । जसको फलस्वरुप बजार आफ्नो तल्लो विन्दु भेटाउनका लागि लगातार ओरालो लागिरहेको छ । बजारले अझै पनि आफुलाई रिभर्स गर्न सकेको छैन ।

अघिल्लो हप्तापनि दोहोरो अंकले घटेको नेप्सेमा यो हप्ताका पहिलो दिन पनि दोहोरो अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै आरालो लागेको बजार अन्तिम समयमा आएर १७ दशमलव ७३ अंकले घट्न पुगेको छ ।

बजारमा क्रेडिट क्रञ्चको समस्या, उच्च ब्याजदर, नेप्सेले संचालनमा ल्याएको अनलाईन कारोबार कर्मकाण्डी मात्रै हुनु, सेयरको सप्लाई अनुसार माग नहुनुजस्ता कारणले अझै पनि बजार ओरालो लाग्ने समग्र लगानीकर्ताहरु बताउँछन् । यस अघि डिम्याट संचालनमा ल्याउँदा जसरी बजार उकालो लागेको थियो अनलाईन कारोबारबाट छाटो समयमै बजारमा प्रभाव नपर्ने भएकाले पनि नेप्से परिसुचक लगानीकर्ताको सोच अनुरुप बढ्न सकेको छैन । जसले गर्दा अझै पनि परिसुचक घटन् सक्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

आईतबार बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १३९ अंकले घट्न पुग्यो भने जीवन बीमा समुहको परिसुचकमा १०५ अंकले गिरावट आएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ । सो समुहको परिसुचकमा १५ दशमलव ५८ अंकले गिरावट आउँदा होटल ३३, लघुवित्त २९, विकास बैंक समुहको परिसुचकमा ११ दशमलव ३३ अंकले गिरावट आएको छ ।

आईतबार नेपाल बैंक र एनएमबी बैंकको सेयर कारोबार बढ्दा कारोबार उच्च हुँदा समग्र कारोबार रकम बढ्न पुगेको छ । दिनभर कुल ४५ करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भए । जसमा १ सय ५६ कम्पनीको १४ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL