काठमाडौं । सरकारले निर्यात व्यापारलाई प्रवर्द्र्धन गर्ने उद्देश्य अनुरुप एकिकृत व्यापार रणनीतिमा राखेका बस्तुहरुको निर्यात ओरालो लागेको छ ।
सरकारले विभिन्न १० बस्तुलाई निर्यातको उच्च प्राथमिकतामा राखे पनि ठिक त्यसको विपरित ती बस्तुहरुको निर्यात भने घट्न पुगेको छ । सरकारले निर्यातको प्राथमिकतामा राखेको बस्तुमध्ये गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा चालू आबको सोही अबधिमा छाला र छाला जुत्ताको निर्यातमा उच्च गिरावट आएको छ ।
व्यवसायीहरुले उच्च लविङ गरेर छाला तथा जुत्तालाई एकिकृति व्यापार रणनीतिको सूचीमा राखेपनि सोही अनुरुप निर्यात गर्न सकेका छैनन् । गत आबको ४ महिनाको तुलनामा छाला निर्यात ५७ दशमलव ५ प्रतिशतले घटेको छ र जुत्ता निर्यातमा १८ दशमलव ७ प्रतिशतले गिरावट आएको छ । यसैगरी अलैची निर्यातमा १९ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।
सरकारले बार्षिक १ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात गर्ने लक्ष्य अनुरुप एनटीआईएसको सूचीमा राखेपनि ४ महिना वित्दा जम्मा १३ करोड रुपैयाँ बराबरको मात्र छाला निर्यात भएको छ । यसैगरी सोही अबधिमा ३१ करोड रुपैयाँको मात्र जुत्ता निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
तर, सो अबधिमा कार्पेट, जडिबुटी, पश्मिनालगायतका बस्तुहरुको निर्यातमा भने केही सुधार आएको छ ।