काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ अंकले घट्न पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १ हजार १ सय ९१ अंकमा झरेर अडिएको छ ।
मंगलबार बजारमा नेप्से परिसुचकका साथै करोबार रकममा पनि गिरावट आएको छ । बजारका कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ४५ प्रतिशतले घट्न पुगेको छ ।
सोमबार बजारमा २९ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा मंगलबार खुम्चिँदै १६ करोड ७७ लाख रुपैयाँमा सिमित हुन पुगेको छ । दिनभर कुल १ सय ६३ कम्पनीको ५ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भए ।
बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ओरालो लागेका छन् । जीवन र निर्जीवन बीमा दुवै समुहका पसिुचक २५ अंकले घट्न पुगेका छन् ।
यसैगरी बजारमा होटल समुहको परिसुचक १७ अंकले घट्दा बजारमा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचक २ दशमलव २६ अंकले मात्र ओरालो लागेको छ ।
घट्दो बजारमा विकास बैंक, जलविद्युत र फाइनान्स समुहको परिसुचक भने उकालो लागेका छन् । मंगलबार कुनै पनि कम्पनीको ८० लाख रुपैयाँभन्दा माथीको सेयर खरिदबिक्री हुन सकेन ।