Logo

मार्जिन लेण्डिङको हल्लाले फुल्लिएको नेप्से पुनः चाउरियो, एभरेष्ट इन्स्योरेन्सले बढायो कारोबार

मार्जिन लेण्डिङको हल्लाले फुल्लिएको नेप्से पुनः चाउरियो, एभरेष्ट इन्स्योरेन्सले बढायो कारोबार



काठमाडौं । मार्जिन लेण्डिङको हल्लाले केही दिन उकालो लागेको बजार पुन घट्न सुरु गरेको छ । अघिल्लो हप्ता बजारमा मार्जिन लेण्डिङ बढ्ने हल्लाका कारण उकालो लागेको बजार पुनः खुम्चिन थालेको छ ।

बजारमा मार्जिन लेण्डिङ बढ्ने हल्ला फैलाईएपनि अर्थ मन्त्री डा.युवराज खतिवडाले अहिलेको अवस्थामा त्यसलाई बढाउन नहुने ग्रीन सिङ्नल दिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । ‘हिजो देखि राष्ट्र बैंक संचालक समितिमा आगामी आर्थिक बर्षको मौद्रिक नीतिको बारेमा भएको छलफलमा मार्जिन लेण्डिङको विषयले प्राथमिकता पाएको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

मार्जिन लेण्डिङ हल्लाकै कारण अघिल्लो हप्ता उच्च अंकमा बढेको नेप्से परिसुचक यो हप्ताको सुरुवातसँगै ओरालो लागेको छ । आइतबार सामान्य ओरालो लागेको नेप्से परिसुचक सोमबार करिब १८ अंकले घट्न पुगेको छ ।

बजारमा उत्पादनमुलक र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक १ सय ३० अंकले घट्न पुग्यो । यसैगरी बजारमा सबैभन्दा बढि प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि साढे १६ अंकको गिरावट आएको छ ।

यसैगरी माइक्रोफाइनान्स समुहको परिसुचक २१ दशमलव ८९ अंकले घट्दा विकास बैंक समुहको परिसुचक १८ र होटल समुहको परिसुचक १६ अंकले ओरालो लागेको छ ।

सोमबार बजारमा कुल ४१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एभरेष्ट इन्स्योरेन्सको करिब १५ करोड रुपैयाँ बराबरको सेयर म्याचिङ गर्दा बजारमा कारोबार रकम बढेन गएको छ । दिनभर कुल १ सय ६७ कम्पनीको १० लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्