काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताको साथ छाड्दै ब्रोकरहरुले आजदेखि सेयर कारोबार गर्ने भएका छन् । मंगलबार अघोषित रुपमा समर्थन गर्दै कारोबार ठप्प पारेका ब्रोकरहरुले आजदेखि सेयर कारोबार गर्ने निर्णय गरेका हुन् ।
बुधबार एक विज्ञप्ती जारी गरी आन्दोलनरत सेयर लगानीकर्ताको अभियानमा ब्रोकरले पनि साथ दिएको भन्ने समाचारको खण्डन गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालले त्यसका आफुहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । साथै सेयर खरिदबिक्रीका लागि ब्रोकर अफिसहरु सदाझै नियमित रुपमा खुला रहेको र सोही अनुरुप कारोबार पनि हुने ब्रोकर एशोसिएशनले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ ।
मंगलबार बेलुका आन्दोलनरत सेयर लगानीकर्ता सम्बन्धी तीनवटै संस्थाले लगानीकर्ताको अभियानमा ब्रोकर लगायत अन्य सर्वसाधारण लगानीकर्ताले पनि साथ दिएको भन्दै धन्यवाद सहित विज्ञप्ती जारी गरेको थियो । तर बुधबार ब्रोकर एशोसिएशनले त्यसैको खण्डन गर्दै सेयर कारोबार खुला रहने जानकारी दिएको छ ।
तर, आन्दोलनरत लगानीकर्ताले भने आफुहरुको माग सम्बोधन नभएसम्म सेयर कारोबार ठप्प पार्दै आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने उद्घोष गरेका छन् । सोही अनुरुप उनीहरुले आज धितोपत्र बोर्डमा घेराउका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।