Logo

केवाईसी भर्न किन आनाकानी गर्दैछन् लगानीकर्ता, के सेयर बजारमा गैरकानुनी क्रियाकलाप बढेकै हो ?

केवाईसी भर्न किन आनाकानी गर्दैछन् लगानीकर्ता, के सेयर बजारमा गैरकानुनी क्रियाकलाप बढेकै हो ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डले यही जेठ १ गेतबाट सेयर कारोबार गर्न लगानीकर्ताले अनिवार्य रुपमा नो योर कष्टुमर (केवाईसी) फारम भर्नु पर्ने व्यवस्था लागू गरेको छ । तर, नियामक निकायले उक्त व्यवस्था लागू गरेसँगै सेयर बजारमा कारोबार रकममा उच्च गिरावट आएको छ ।

दैनिक १ अर्ब रुपैयाँभन्दा बढिको सेयर कारोबार भइरहेको बजारमा केही समय अघि खुम्चिदै ५०/६० करोड रुपैयाँको हाराहारीमा भइरहेको थियो । तर, केवाईसीलाई अनिवार्य गरेकै दिन सो रकम घटेर १५ करोड रुपैयाँभन्दा तल झर्न गयो । तर, त्यसको भोलीपल्ट अर्थात बुधबार भने कारोबारमा सामान्य सुधार आएको छ ।

सेयर बजार गैरकानुनी क्रियाकपाल रोक्न तथा सम्पति सुद्धिकरणलाई कडाई गर्न बोर्डले लगानीकर्ताको व्यक्तिगत विवरणलाई अनिवार्य गरेसँगै बजारमा सुस्तता आएको छ । केही समय अघि बोर्ड बजारमा स्रोत नखुलेको रकम (कालोधन) ले प्रवेश पाएको आशंकमा बजारमा अनुगमन बढाएसँगै सोही अनुरुप कारोबारमा उच्च गिरावट आएको थियो भने सोही अनुरुप परिसुचक पनि घटेको थियो ।

पछिल्लो समय सोही अनुरुप स्रोत नखुलेको रकमलाई सेयर बजारमा प्रवेश हुन रोक्न तथा गैरकानुनी क्रियाकलापलाइ निरुत्साहित गर्न लगानीकर्ताको विस्तृत विवरणलाई अनिवार्य गरेसँगै पुनः सेयर कारोबारमा उच्च गिरावट आएको छ ।

आफ्ना लगानीकर्ताको केवाईसीलाई अनिवार्य गर्न बोर्डले २०७४ फागुन २५ गते सम्बद्ध ब्रोकर कम्पनीलाई निर्देशन दिएको थियो । त्यसको २ महिना पछि मात्र बोर्डले अनिवार्य रुपमा लागू गरेको थियो । तर, सो अबधि वितिसक्दा पनि लगानीकर्ताहरुले अनिवार्य रुपमा केवाईसी अपडेट नगर्नुले धितोपत्र दलाल (ब्रोकर) र लगानीकर्तामाथी गम्भिर प्रश्न खडा भएको एक लगानीकर्ताले जानकारी दिए ।

पछिल्लो समय सेयर बजारमा वास्तविक लगानीकर्ता भन्दा पनि अर्काको नाममा सेयर कारोबार गर्ने गैर कानुनी लगानीकर्ताको वर्चश्व बढेको ती लगानीकर्ता बताउँछन् । ‘नियामक निकायले करिब ३ महिनाको समय दिएर केवाईसी फारम भर्न समय दिँदा पनि उक्त फारम नभर्नु लगानीकर्ताको गल्ती हो भने सो फारम नै नभरिकन सेयर कारोबार गर्न दिनु सम्बद्ध ब्रोकर कम्पनी गल्ती हो,’ ती लगानीकर्ता भने, ‘यदि बजारमा वास्तविक लगानीकर्ता छन् भने आफ्नो केवाईसी भर्न किन डारउनु पर्यो ।’

विशेषगरी बोर्डले हरेक आवेदकलाई अनिवार्य १० कित्ता सेयर पर्ने व्यवस्था गरेसँगै बजारमा गैरकानुनी लगानीकर्ताको प्रवेश बाक्लो भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘बोर्डले सेयर आवेदन दिने सबै नागरिकलाई अनिवार्य १० कित्ता सेयरको व्यवस्था गरेसँगै केही विचौलियाहरुले गाउँगाउँमा गएर नागरिकता संकलन तथा आफु नजिकका बैंक र ब्रोकरकहाँ गएर खाता खोले,’ ती लगानीकर्ताले भने, ‘तर, अहिले केवाईसीका लागि स्वयम व्यक्ति नै उपस्थिती हुनुपर्ने व्यवस्थाले गर्दा त्यस्ता लगानीकर्ताको व्यक्तिगत विवरण अपडेट हुन सकेनन् ।’ विशेषगरी पछिल्लो समय ठूला लगानीकर्ता दर्ता ब्रोकरहरुले अर्काको नाममा सेयर कारोबार गर्ने ट्रेण्ड समेत उच्च भएको ती लगानीकर्ताको आरोप थियो ।

पछिल्लो समय सेयर लगानीकर्ता सम्बन्धी विभिन्न संघसस्थाले बजारमा १५ लाखभन्दा बढि लगानकर्ता भएको बताउँदै आएपनि वास्तविक संख्या एकदमै कम भएको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने हालसम्म खाता खोलेका १५ प्रतिशत लगानीकर्ताले मात्र आफ्नो केवाईसी अपडेट गराएका छन्,’ उच्च स्रोत भन्यो, ‘अनिवार्य गरेर नियामकले सुचना निकालेको ३ महिना वित्न लागिसक्दा सो मात्रामा मात्र केवाईसी अपडेट हुनु भनेको बजारमा गैरकानुनी लगानीकर्ताको हावी हुनु हो ।’

यसैगरी नियमक निकायले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी पनि केवाईसी लागू भएसँगै कारोबार रकम ह्वात्तै घट्नुले शंका उब्जिएको बताउँछन् । ‘केवाईसी लागू हुँदा १५÷२० प्रतिशत लगानी घट्नु स्वभाविक हो,’ उनले भने, ‘तर जुन रुपमा कारोबार रकममा गिरावट आएको छ यसले केही शंका गर्ने ठाउँ उब्जिएको छ ।’

केवाईसी लागू भएसँगै कारोबार रकममा उच्च गिरावट आएकोले बोर्डले ब्रोकरबाट सम्बन्धित लगानीकर्ताको वास्तविक विवरण मगाएर अध्ययन गर्न लागेको समेत उनले जानकारी दिए । ‘यस अघि ब्रोकरले आफ्ना लगानीकर्ताको विवरण कसरी राखेका थिए र अहिले कसरी राखेका छन् सो सम्बन्धमा विस्तृत विवरण मगाएका छौं,’ उनले भने, ‘ब्रोकर अफिसबाट सबै विवरण मगाएपछि मात्र त्यसको वास्तविकता थाहा हुनेछ ।’

यसैगरी पछिल्लो समय सेयर बजार बढ्ने आधार नभएकाले पनि कारोबार रकममा गिरावट आएको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘बजारमा केही मात्रामा गैर कानुनी लगानीकर्ता होलान,’ उनले भने, ‘तर पछिल्लो समय कारोबार घट्नुमा बजार बढ्ने आधार नभएर हो ।’

विशेषगरी पछिल्लो समय सेयर बजारसम्बन्धी अर्थ मन्त्रीको अभिव्यक्ति तथा व्यक्तिगत कारोबार मा पनि कर लगाउने हल्लाले लगानीकर्ताहरु शसंकित बन्न पुगेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्