काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक र कारोबार रकम दुबै ओरालो लागेका छन् । गत हप्ता लगानीकर्ताहरुले श्वेतपत्रको आशमा बजार बढाएपनि केही नसमेटिएपछि बजार उच्च रुपमा ओरालो लागेको थियो ।
आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचकमा दिनभर घटवढ हुँदै अन्तमा २४ अंकले ओरालो लागेको छ । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ओरालो लागेको छ । बीमा समुहको परिसुचक १ सय ५९ अंकले घट्दा बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २२ अंकले घटेको छ ।
यस्तै, विकास बैंक समुह ३६ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचकमा २६ अंकको गिरावट अएको छ भने जलविद्युत ३७ र होटल समुहको परिसुचक २७ अंकले घटेको छ ।
बजारमा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो हप्ता दैनिक ५० करोड रुपैयाँभन्दा बढी कारोबार भएकोमा आज ३१ करोड रुपैयाँमा सिमिति भएको छ । जसमा १ सय ५७ कम्पनीको १२ लाख ८३ हजार कित्ता सेयर कारोबार भए ।