काठमाडौं । सेयर बजारमा लगानीकर्ताहरु नराम्रोसँग मारमा परेका छन् । ‘वियरिस ट्रयाप’ मा पुगेको बजारमा सामान्य हल्लाले गर्दा साना र नयाँ लगानीकर्ताहरु चेपुवामा परेका छन् ।
मंगलबार सुरुमा बजार उच्च रुपमा घटाएर श्वेतपत्रले पूँजी बजारमा सम्बोधन गर्दैछ भन्ने हल्ला फैलाएर साना तथा नयाँ लगानीकर्तालाई पुनः बजारमा प्रवेश गराउने काम भयो । यसैगरी बुधबार पनि बजारको खुलेको केही समय उच्च रुपमा बढाउँदै दिनभर च्याखे थाप्ने काम भयो ।
केही समयता दैनिक जसो ओरालो लागेर समस्यामा परेका लगानीकर्ताहरु २ दिनमा एक सय अंकको चेपुवामा परेका छन् । मंगलबार बजारमा उच्च रुपमा उचरतढाव हुँदै ८० अंकको घटवढ भएको थियो भने बुधबार पनि ३४ अंकको घटवढ हुन पुग्यो । जहाँ साना लगानीकर्ता फस्न पुगे भने ठूला लगानीकर्ताले निस्कने मौका पाए ।
पछिल्लो दुई दिनमा कारोबार रकममा पनि राम्रै सुधार आएको छ । दुबै दिन ५० करोड रुपैयाँभन्दा माथीको सेयर कारोबार भएको छ । घट्दो बजारमा निरास भएर बसेका लगानीकर्तालाई बढ्ने आशामा पुनः बजारमा प्रवेश गराएर पिल्साउने काम मात्र भएको छ ।
बुधबार बजारमा नयाँ लगानीकर्ता आकर्षित गर्न ठूला लगानीकर्ताहरुले ‘रेन्ज’ खुलाएर भएपनि सेयर बिक्री गरेका छन् । ठूला लगानीकर्ताले आफुसँग भएको सेयर बढेको समयमा बेच्न रेन्ज खुलाएर खरिदकर्ताको माग अनुरुप बिक्री गरेका छन् । ठूला लगानीकर्ताले त्यसरी रेञ्ज खुलाएर सेयर बिक्री गर्न १०÷२० कित्ता सेयरको कारोबार बढी गराएको एक लगानीकर्ताले जानकारी दिए ।
सोही अनुरुप बजारमा दिनभर उतारचढाव आयो । बजार खुलेको केही समय १४ अंकले बढेको नेप्से परिसुचकमा लगत्तै करिब २० अंकको गिरावट आएको छ । त्यसपछि बाउन्सब्याक भएको नेप्सेमा कारोबार समय भरनै उतारचढाव भएको थियो । बुधबार लगानीकर्ताले बजार बढ्ने आशा राखेपनि अन्तमा २ दशमलव ९० अंकले घटेको छ ।
बजारमा प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बीमा समुहको परिसुचक ९१ अंकले घटेको छ भने माइक्रोफाइनान्स समुहको परिसुचकमा पनि २९ अंकको गिरावट आएको छ । यसैगरी, जलविद्युत समुहमा २१ अंकको गिरावट आउँदा होटल समुहको परिसुचक पनि १९ अंकले घटेको छ । तर, बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक भने सामान्य उकालो लागेको छ । बुधबार बैकिङ समुहसँगै विकास बैंक, उत्पादनमुलक र अतिरिक्त समुहको परिसुचक पनि सामान्य बढेका छन् । दिनभर बजारमा १ सय ६२ कम्पनीका १३ लाख ५२ हजार कित्ता सेयर कारोबार भएको छ ।