काठमाडौं । केहीदिन यता लगातार ओरालो लागेको नेप्से परिसुचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । राष्ट्रियसभाको निर्वाचन भएर देशले नयाँ सरकार पाउने आशा पलाउँदै गर्दा नेप्सेले भने त्यसको विपरित दिशा समातेको छ ।
बुधबार कारोबार शुरु भएदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा १२ अंकले घट्न पुगेको छ । नेप्से परिसुचक १ हजार ३ सय ८२ अंकमा झरेर अडिएको छ ।
बजारमा फाइनान्स र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ८२ अंकले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा पनि दोहोरो अंकको गिरावट आएको छ ।
बैंकिङ समुहको परिसुचक १० दशमलव ५ अंकले घट्दा होटल समुह १८ र उत्पादनमुलक समुहको परिसुचकमा १६ अंकको गिरावट आएको छ । बजारमा अन्य समुहको परिसुचकमा भने सामान्य गिरावट आएको छ ।
बजारमा नेप्से परिसुचकका साथै कारोबार रकमले पनि गति लिन सकेको छ्रैन । बुधबार बजारमा २६ करोड ५५ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ५२ कम्पनीको ७ लाख ४२ हजार कित्ता सेयर मात्र कारोबार भएको छ ।
बजारमा आजैमात्र फरदर पब्लिक अफरिङ (एफपीओ) जारीको घोषणा गरेको नेपाल बैैंकको मात्रै ५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसले गर्दा बजारमा मंगलबारको तुलनामा कारोबार रकम समान्य बढाएको छ ।
यसैगरी सिभिल बैंकको १ करोड रुपैयाँको सेयर खरिदबिक्री हुँदा अन्य कम्पनीले भने १ करोड रुपैयाँ छुन सकेनन् ।