Logo

अब सबै सेयर ब्रोकर पब्लिक कम्पनी, सर्बसाधारणलाई पनि सेयर !

अब सबै सेयर ब्रोकर पब्लिक कम्पनी, सर्बसाधारणलाई पनि सेयर !


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । हाल व्यक्तिगत रुपमा कम्पनी संचालन गर्दै आएका ब्रोकर कम्पनी अब पब्लिक कम्पनी हुनुपर्ने भएको छ । कम्पनी ऐन २०६३ को पहिलो संसोधन गर्दे उक्त व्यवस्था गरेको हो ।

कम्पनी ऐन पहिलो संसोधन २०७४ ले धितोपत्र बजार सम्बन्धी व्यवसाय गर्ने कम्पनी अब पब्लिक कम्पनीको रुपमा स्थापना हुनुपर्ने व्यवस्था गरेको छ । यस अघि प्रालिमा दर्ता भएका कम्पनीहरु पनि अबको २ बर्षभित्र अनिवार्य रुपमा पब्लिक कम्पनी हुनुपर्ने व्यवस्था छ । ‘बैंकिङ कारोबार, वित्तीय कारोबार, बीमा व्यवसाय सम्बन्धी कारोबार, धितोपत्र बजार सम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्यचुअल फण्ड) सञ्चालन गर्ने कम्पनी अब पब्लिकको रुपमा स्थापना हुनुपर्ने छ,’ कम्पनी ऐनमा भनिएको छ, ‘हाल दर्ता भएको प्राइभेट कम्पनीहरुले पनि दुई बर्षभित्र यस दफा बमोजिम पब्लिक कम्पनीमा परिणत भइसक्नुपर्ने छ ।’

हाल कम्पनी ऐनले सम्पूर्ण ब्रोकर कम्पनीलाई पब्लिक कम्पनीमा जान निर्देशन दिएसँगै अबका दिनमा ती कम्पनीहरुले सर्बसाधारणमा सेयर जारी गर्नुपर्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । ‘ब्रोकर कम्पनीले सर्बसाधारणलाई सेयर जारी भएका कम्पनीहरुको सेयर कारोबार गर्दै आएका छन्,’ उनले भने, ‘आफु पारदर्शी हुन अब ब्रोकर कम्पनीले पनि सर्बसाधारणमा सेयर जारी गर्नुपर्छ ।’ ब्रोकर कम्पनीले सर्बसाधारलाई सेयर गरेसँगै लगानीकर्ता र ब्रोकरबीचमा देखिएको दुविधा समेत हट्ने उनको दाबी थियो ।

हाल कम्पनीले ऐनले ब्रोकरलाई पब्लिक कम्पनीमा जान निर्देशन दिएसँगै अब त्यस्ता कम्पनीलाई धितोपत्र बोर्डले सर्बसाधारणमा सेयर जारी गर्न निर्देशन दिन सक्ने बोर्डको कार्यकारी निर्देशक निरज गिरीले बताए । ‘अब उनीलाई बोर्डले कुनैपनि बेला सर्बसाधारणमा सेयर जारी गर्न दिर्नेशन दिन सक्छ,’ उनले भने, ‘तर, उनीहरुले सर्बसाधारणमा सेयर जारी गर्ने बेला भएको छ वा छैन, अन्तरराष्ट्रिय अभ्यास के छन् यी विषयमा अध्ययन गर्नु जरुरी छ ।’

कम्पनी ऐन अनुसार सबै ब्रोकर कम्पनी पब्लिकमा जानु पर्ने भएपनि सर्बसाधारणमा सेयर जारी गर्ने वा नगर्ने भन्ने विषय सम्बन्धित कम्पनीको निजी कुरा भएको ब्रोकर एशोसिएशनका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘ऐन अनुसार सबै ब्रोकर पब्लिक कम्पनीमा जानुपर्छ,’ उनले भने, ‘तर, सर्बसाधारणमा सेयर जारी गर्नुपर्छ भन्ने बाध्यकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्