काठमाडौं । १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ पुस १३ गते देखि आयोजना हुने भएके छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनी ६ दिनसम्म चल्ने छ ।
प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरुको करिव १२५ वटा स्टल रहनेछन । यो प्रदर्शनी जुत्ता तथा चप्पल एवं छालाजन्य बस्तुहरुको एकल प्रदर्शनी हुन आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले जानकारी दिएको छ ।
यस पटकको मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनहरुको बेग्ला बेग्लै प्याभिलियनको समेत व्यवस्था गरिएको छ ।
जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज स्याण्डलका स्टलहरु प्रदर्शनीमा रहनेछन् । जुत्ता–चप्पल तथा छालाजन्य वस्तुहरु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनहरु समेत प्रदर्शनीमा राखिने बताएको छ ।
साथै मेला अवधिभर प्रत्येक दिन विभिन्न चर्चित मोडल तथा कलाकारहरुद्धारा फेसन सो एवं रयाम्प वाक समेत गराइनेछ । मेलामा सामाजीक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले प्रत्येक दिन रक्तदान कार्यक्रम तथा प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिवीरको पनि आयोजना गरिनेछ ।
प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीका लागी स्टल बुकिगं समेत खुल्ला गरिएको छ । यस प्रदर्शनीमा प्रायोजक बाहेकका उद्योगिहरुकोे ६५ वटा स्टल बुकिङ्ग भइसकेको छ ।
प्रदर्शनीमा करिव २ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।