Logo

वियरिस ट्रेण्ड समात्दै नेप्से, १५ सयबाट ओरालो लाग्यो बजार, किन हच्किदैछन् लगानीकर्ता ?

वियरिस ट्रेण्ड समात्दै नेप्से, १५ सयबाट ओरालो लाग्यो बजार, किन हच्किदैछन् लगानीकर्ता ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दशैं अघिबाट ओरालो लाग्न शुरु गरेको नेप्से परिसुचक दैनिक जसो घटिरहेको छ । लगानीकर्ताहरुले दशैं पछि बजार बढ्ने अनुमान लगाएपनि त्यसको ठिक विपरित दैनिकजसो नेप्से परिसुचक ओरालो लागेको छ ।

बजारमा तरलता (लगानी योग्य पूँजी) भएपनि लगानीकर्ताहरु बजार प्रति आकर्षित हुन सकेका छैनन् । देशमा बढ्दो चुनावी माहोल तथा बजारमा तरलता भएपनि लगानीकर्ताको मनोविज्ञान भने ठिक त्यसको विपरित गएको छ ।

केही लगानीकर्ताहरु आफुसँग भएको सेयर बिक्री गर्दै चुनावी अभियानमा होमिएका कारण बजारले दैनिकजसो घट्दो ट्रेण्ड समालेको एक लगानीकर्ताले बताए । ‘अहिले केही ठूला तथा मध्यम स्तरका लगानीकर्ताहरु आफुसँग भएका सेयर समेत बिक्री गरेर चुनावी अभियानमा लागेका छन्,’ उनले भने, ‘धेरैजसो लगानीकर्ता चुनावमा केन्द्रित भएकाले पनि बजारले गति लिन नसकेको हो ।’

यस्तै बजारमा बढ्दो सेयरको फ्लो, नेपाल भित्र्ने रेमिट्यान्सको घट्दो बृद्धिदर र राजनीतिक अस्थिरताले गर्दा पनि लगानीकर्ताहरुको मनोविज्ञानमा असरको गरेको देखिन्छ । ‘केही समय अघिसम्म बजारमा कुनै पनि कम्पनीको सेयर एकदमै न्युन मात्रामा थियो भने त्यसप्रतिको आकर्षण बढी थियो,’ ती लगानीकर्ताले भने, ‘अहिले ती कम्नपीको सेयर ३÷४ गुणाले बढेको छ भने प्रतिफल घटेको छ ।’ घट्दो प्रतिफल र बजारमा सेयर संख्या उच्च रुपमा बढेका कारणले गर्दा पनि बजारप्रति लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन ।

दशैं तथा तिहार पछि लगातार ओरालो बाटोमा लागेको नेप्से परिसुचक आज पनि २६ अंकले घट्न पुगेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको बजार अन्तमा १ हजार ५ सय अंकभन्दा तल ओर्लिएको छ । जसमा ब्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको बैंकिङ समुहको परिसुचक २४ दशमलव २९ अंकले ओरालो लागेको छ । यसैगरी, बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय ५७ अंकले घट्न पुगेको छ ।

बजारमा विकास बैंक समुहको परिसुचकमा ३१ अंकले गिरावट आएको छ भने फाइनान्स ६ र जलविद्युत समुहको परिसुचक ३६ अंकले घटेको छ । आईतबार घट्दो बजारमा कारोबार रकम भने केही बढेको छ । बजारमा कारोबार रकम बढेर ६३ करोड रुपैयाँ पुगेको छ भने कुल १ सय ५९ कम्पनीको १५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL