काठमाडौं । नेप्से परिसुचक बुधबार पनि ओरालो लागेको छ । केही दिनयता लगातार ओरालो लागेको नेप्से परिसुचक बुधबार पनि घट्न पुगेको छ ।
बुधबार बजार खुलको केही समय सामान्य उकालो लागेर घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा ३ दशमलव १९ अंकले घटेको थियो । बजारमा ६० प्रतिशतभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक घट्दा समग्र नेप्से परिसुचक ओरालो लागेको हो ।
केही समययता ओरालो लाग्न शुरु गरेको बैंकिङ समुहको परिसुचकमा आज पनि ५ दशमलव १५ अंकले गिरावट आएको छ । लगानीको आधारमा चुक्ता पूँजी बढी र राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन हकप्रदको बाढीले गर्दा पनि बैंकिङ समुहको परिसुचक ओरालो लागेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘२ अर्ब रुपैयाँको चुक्ता पूँजी बढेर ८ अर्ब पुग्यो तर कर्जा प्रबाह भने सोही अनुरुप बढ्न सकेको छैन,’ ती लगानीकर्ताले भने, ‘त्यसमा पनि हकप्रद भर्ने होडले गर्दा दोस्रो बजारमा लगानीकर्ताको चाख देखिएको छैन ।’
बजारमा विकास बैंक, जलविद्युत लगायतका परिसुचक ओरालो लागेका छन् । तर, फाइनान्स, बीमा, अतिरिक्त र उत्पादनमुलक समुहको परिसुचक सामान्य उकालो लागेका छन् ।
बजारमा कारोबार रकम पनि बढ्न सकेको छैन । केही दिन ५० करोड रुपैयाँको हाराहारीमा पुगेको कारोबार आज ४१ करोड रुपैयाँमा खुम्चिएको छ । जसमा राष्ट्रिय बीमा कम्पनी, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंकको संस्थापक सेयरको योगदान रहेको छ ।