काठमाडौं । दशैं पछि लगानीकर्ताले सेयर बजार उकालो लाग्ने आश गरेपनि ठिक त्यसको विपरित बजार भने ओरालो लागेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तमा १३ दशमलव ७० अंकले घटेको छ ।
वाम एकता पश्चात देशमा राजनीतिक उथलपुथल हुने त्रासले गर्दा पनि लगानीकर्ताहरुले सेयर वेच्न थालेको एक लगानीकर्ताले बताए । ‘अहिलेको वाम एकताले देशको राजनीतिले कुन मोड लिने हो टुङ्गो छैन,’ ती लगानीकर्ताले भने, ‘जसको असर सेयर बजारमा देखिएको छ ।’
बुधबार बजारमा प्रायःजसो समुहको परिसुचक ओरालो लागेको लागेका छन् । जसमध्ये सबैभन्दा बीमा, जलविद्युत र बैंकिङ समुहको परिसुचक ओरालो लागेका छन् । बजारमा प्रभाव बढी रहेको बैंकिङ समुहको परिसुचक १७ दशमलव ४७ अंकले ओरालो लागेको छ भने बीमा ३५ र जलविद्युत समुहको परिसुचक २७ अंकले घटेको छ । तर, बजारमा अतिरिक्त समुह, उत्पादनमुलक र होटल समुहका परिसुचक भने उकालो लागेका छन् ।
बजारमा कारोबार रकम पनि बढ्न सकेन । दिनभर कुल कुल २७ करोड ९७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएका छन् । जसमा १ सय ४४ कम्पनीको ६ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।