काठमाडौं । पोखराको पर्यटकीय क्षेत्र सराङकोटमा तेश्रो सराङकोट पर्यटन महोत्सव सुरु भएको छ । महोत्सवको शुक्रबार पूर्व प्रधानमन्त्री एंवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरे ।
सो अवसरमा अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म रेल ल्याएरै छाड्ने प्रतिवद्धता दोर्याए । काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रकृया सुरु भइसकेको र केही वर्ष्िभत्रै सन्चालनमा आउने उनले बताए । रेलमार्ग निर्माणमा केहि ढिलाई भएपनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाई छ ।
सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामासुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ ।
महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन ।
महोत्सवका अवसरमा सराङकोटको परिचय बोकेको साराङ खेल कौशल समेत प्रर्दशन गरिएको थियो ।महोत्सवमा सामूहिक नृत्य प्रतियोगिता, प्याराग्लाईडिङ् प्रतियोगिता, झाँकी प्रर्दशनी प्रतियोगिता, दुना टपरी गाँस्ने प्रतियोगिता, कृषि सामाग्री तथा हस्तकला सामाग्री प्रर्दशनी प्रतियोगिता तथा साराङ खेल महोत्सवमा मुख्य आर्कषणको रुपमा रहेका छन् ।
१० दिने महोत्सवको १लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
सराङकोटमा हरेक दिन विहान सुर्योदय र पोखराको दृश्यावलोकन गर्नेहरुको भिड लाग्ने गरेको छ । सराङ्गकोटबाट पोखरा उपत्यका, अन्नपूर्ण, धौलागिरि र माछापुछ्रे लगायतका हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सराङकोटबाट प्याराग्लाईडिङ शयर र जिप फल्यार लगायतका साहसिक गतिविधिका लागी दैनिक सयौं पर्यटक पुग्ने गरेका छन् ।