काठमाडौं । साताको पहिलो दिन सेयर बजार उच्च रुपमा घटेको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा २१ दशमलव ९९ अंकले ओरालो लागेको छ ।
सरकार र ब्रोकरबीच पूँजी बजारमा मूल्य अभिबृद्धि कर (भ्याट) लगाउने सहमतिसँगै बजारमा भ्याट आंतङ्क फैलिएको छ । दुई पक्षबीचको सहमतिसँगै खुलेको बजारमा लगानीकर्ता अन्यौलमा पर्दा बजार दोहोरो अंकमा घट्न पुगेको हो ।
आइतबार नेप्से परिसुचक ओरालो लाग्दै १ हजार ५ सय ४१ अंकमा झरेर अडिएको छ । बजारमा प्रायःजसो सबै समहुका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय ३० अंकले घटेको छ ।
यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २२ दशमलव ८७ अंकले घटेको छ । बैंकिङ समुहको परिसुचक उच्च रुपमा घटेसँगै नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको हो ।
बजारमा विकास बैंक समुह ३० अंकले घट्दा जलविद्युत समुह २५ अंकले ओरालो लागेको छ । यसैगरी उत्पादनमुलक समुह २१ र फाइनान्स समुहमा साढे ६ अंकको गिरावट आएको छ । तर, होटल र अतिरिक्त समुहका परिसुचक भने सामान्य बढेका छन् ।
दिनभर कुल १ सय ४८ कम्पनीको सेयर कारोबार भएको छ । ती कम्पनीका कुल ५६ करोड ७७ लाख रुपैयाँ बराबरको ९ लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।