काठमाडौं । पछिल्लो समय देशमा राजनीतिक अस्थिरता बढेसँगै त्यसको असर नेप्सेमा पर्न गएको छ । देशमा स्थानीय तहको पहिलो चरण निर्वाचन सफल रुपमा सम्पन्न भएपनि दोस्रो चरणको निर्वाचन अनिर्णयको बन्दीमा परेपछि राजनीतिक घटनाक्रमसँगै नेप्से पनि रुमलिएको छ ।
सरकारले मधेश केन्द्रीत दलको आग्रह अनुसार तीन पटक समय सार्दै असार १४ मा स्थानीय तहको दोस्रो चरणमोका मिति तय गरेको छ यो ।
तर, राष्ट्रिय जनता पार्टी (राजपा) ले अहिलेको मितिमा चुनावमा भाग लिन नसक्ने र पुनःअर्को मिति तय गर्न सरकारलाई आग्रह गरसँगै त्यसको ठूलो झड्का नेप्सेमा पर्न गएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘देशमा स्थानीय निकायको चुनाव भएर शान्ती र स्थायीत्व कायम भई देशले आर्थिक गति लिने आशमा लगानीकर्ताहरु थिए,’ एक लगानीकर्ताले भने, ‘तर, पहिलो चरणको निर्वाचन भएर दोस्रो चरणको निर्वाचन अनिर्णयको बन्दीमा हुँदा लगानीकर्ताहरु अन्योलमा परेका छन् ।’
मधेश केन्द्रीत दलको किचलो कै कारण आइतबार नेप्से परिसुचक उच्च रुपमा घट्न पुग्यो । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक २४ दशमलव ७० अंकले घट्न पुग्यो । आइतबार नेप्से परिसुचक १ हजार ५ सय अंकभन्दा तल झर्दै १ सय ९० अंकमा ओर्लिएको छ ।
बजारमा उत्पादनमुलक र होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।
जसमा सबैभन्दा बीमा समुहको परिसुचक १ सय ३८ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २५ दशमलव ४३ अंकले घटेको छ । उक्त समुहको परिसुचकमा उच्च गिरावट आएसँगै समग्र नेप्से परिसुचक ओरालो लागेको हो ।
बजारमा विकास बैंक समुहको परिसुचक पनि २० अंकले घटेको छ । यसैगरी जलविद्युत समुहको परिसुचक झण्डै ४६ अंकले ओरालो लाग्दा फाइनान्स समुह साढे ७ अंकले घटेको हो ।
साताको पहिलो दिन बजारमा कारोबार रकममा भने केही सुधार आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन ४९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएकोमा यस हप्ताको पहिलो दिन ७१ करोड १३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा १ सय ४६ कम्पनीको ११ लाख २३ हजार कित्ता सेयर कारोबार भएको छ ।
आइतबार बजारमा सबैभन्दा बढी स्टाण्डर्ड चाटर्ड बैंकको सेयर खरिदबिक्री भएको छ । स्ट्याण्डर्डको साढे ७ करोडको सेयर कारोबार हुँदा दोस्रोमा एनएमबी बैंकको ४ करोड ८१ लाख रुपैयाँको प्रमोटर सेयर खरिदबिक्री भएको छ ।