Logo

घरेलु महासंघद्धारा बजेटलाई स्वागत, ‘कार्यन्वयन चुनौतीपूर्ण’

घरेलु महासंघद्धारा बजेटलाई स्वागत, ‘कार्यन्वयन चुनौतीपूर्ण’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल घरेलु  तथा साना उद्योग महासंघले आर्थिक वर्ष २०७४/७५ का लागि आएको बजेटको स्वागत गरेको छ । अत्यन्तै तरल राजनीतिक अवस्थाकाबीच संविधानले व्यवस्था गरे बमोजिम तोकिएकै समयमा आएको भन्दै  बजेटका बारेमा वुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत महासंघले स्वागत गरेको हो ।

समग्रमा बजेट सकारात्मक नै देखिएको महासंघका अध्यक्ष श्याम गिरीले बताए । निर्वाचन आचारसंहिताको कारणले नयाँ कार्यक्रमहरु तर्जुमा गर्न नसकिएको भएता पनि राष्ट्रिय गौरवका आयोजनाहरुमा रामै बजेट विनियोजन गरिएकोमा स्वागतयोग्य भएको उनले जानकारी दिए । ‘अघिल्लो बजेटकै निरन्तरताको रुपमा थोरै कार्यक्रय र गौरवका आयोजनाहरुलाई निरन्तरता दिने क्रममा  बजेट आयो यो सकारात्कम पक्ष हो’ उनले भने ‘यसलाई महासंघले सकारात्मक रुपमा लिएको छ ।’

आकारको हिसावले ठूलो रहेको बजेट महत्वाकांक्षी रहेकोले यसको कार्यान्वयन चुनौतिपूर्ण रहेको महासंघको धारणा छ । स्थानीय तहका लागि बजेट बिनियोजन गर्नु पर्ने भएकोले बजेटको आकार बृद्धि भएको प्रतित हुने भन्दै महासंघले आन्तरिक स्रोत परिचालनको हिसाबले स्थानीय तहमा बजेट परिचालन हुन सक्छ या सक्दैन भन्ने चुनौति रहेको जानकारी दिएको हो ।

यो चुनौतिलाई आगामी सरकारले गम्भीरतापूर्वक शुरूदेखि लागु गर्न सक्छ कि सक्दैन भन्नेमा शंका रहेको अध्यक्ष गिरीले बताए । स्थानीय निकाय त्यसमा पनि गाउँपालिकामा बजेट कम भएको भन्दै महासंघले स्थानीय तहलाई ४० प्रतिशत काम गर्छ बजेट १७ प्रतिशत मात्रै दिइएको टिप्पणी गरेको छ ।

विकास निर्माणका प्रक्रियामा मिति नै तोकेर काम सक्नुपर्ने व्यवस्था पनि बजेटको सकारात्मक पक्ष हो । महासंघको उद्योग क्षेत्रको विकासका तथा उत्पादन बढाउने विषयमा कुनै ठोस कार्यक्रम नभएको गुनासो छ ।

विषेश राजनीतिक परिस्थितीमा आएकोले यो बजेटको दायरा सिमित रहेकोले यो बजेटको आलोचना तथा समर्थन गर्ने खासै ठाँउ नभएको महासंघको ठहर छ ।

सरकारले केहि समय अघि सार्वजनिक गरेको १४ त्रिवर्षिय योजना, आर्थिक सर्वेक्षण र बजेटमा खासै समन्वय नभएको जस्तो देखिएको भन्दै महासंघले काम गर्ने क्षमता नभए पनि बजेटमा लेख्ने मात्र काम भएको जनाएको छ । उद्योग व्यवसाय, रोजगारी श्रृजना तथा जनजीविकाका सवालमा कसरी काम गर्ने भन्ने बिषय स्पष्ट नभए सम्म लघु घरेलु तथा साना उद्योगीहरुको विकास सम्भव नभएको अध्यक्ष गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्