Logo

१० प्रतिशतसम्म बढ्यो मदिरामा अन्त शुल्क, हेर्नुहोस कुनमा कती ?

१० प्रतिशतसम्म बढ्यो मदिरामा अन्त शुल्क, हेर्नुहोस कुनमा कती ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा अब मदिरा थप महंगो हुने भएको छ । सरकारले सोमबार घोषणा गरेको बजेटमा मदिरामा ७ देखि १० प्रतिशतसम्म अन्तःशुल्क बढाएकोसँगै मदिराको मूल्य बढ्ने भएको हो ।

सरकारले सबै प्रकारका मदिरामा अन्तःशुल्क दर बढाएको हो । अन्तःशुल्क बढेपछि १५ युपी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर १ हजार ३ रुपैयाँ कर पर्ने भएको नेपाल मदिरा व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि प्रतिलिटर ९१२ रुपैयाँ प्रतिलिटर अन्तशुल्क कायम गरिएको थियो ।

त्यस्तै २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको कर प्रतिलिटर ७४८ रुपैयाँ पुगेको छ । यसअघि यस्तो कर ६८० रुपैयाँ मात्रै थियो । यसमा पनि करिव १० प्रतिशत अन्तःशुल्क बढेको हो ।

३० युपी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिराको प्रतिलिटर ६९७ रुपैयाँ अन्तःशुल्क लाग्ने छ । यसअघि यस्तो मदिरामा प्रतिलिटर ६३४ रुपैयाँ अन्तःशुल्क राखिएको थियो ।

रमलगायत अन्य स्प्रीटहरूको कच्चा पदार्थ, जिन र जेनेभा तथा लिकर्स तथा उद्दीपक (कार्डियल्स)को कच्चा पदार्थको रूपमा प्रयोग हुने मादकको कर प्रतिलिटर १२ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ११५ रुपैयाँ रहेको अन्तःशुल्क १२७ पुगेको छ ।

स्वदेशमा उत्पादित फलफूल र तिनबाट बनेका १२ प्रतिशतसम्म अल्कोहलको मात्रा भएको स्वदेशी वाईनमा प्रतिलिटर ७४ बाट अन्तःशुल्क बढाएर ८० रुपैयाँ र्पुयाइएको छ । त्यस्तै ४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको रक्सीको प्रतिलिटर ३५० रुपैयाँ अन्तःशुल्क कायम गरिएको छ । यसअघि यसको अन्तःशुल्क प्रतिलिटर ३२१ रुपैयाँ थियो ।

अन्य समूहको ५० युपी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको रक्सीको प्रतिलिटर १४४ रुपैयाँ अन्तःशुल्क कायम गरिएको महासंघले जानकारी दिएको छ ।

यसअघि यो समूहमा अन्तशुल्क प्रतिलिटर १३२ रुपैयाँ थियो । यस्तै ७० युपी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिराको अन्तशुल्क प्रतिलिटर २६ रुपैयाँ भएकोमा २८ रुपैयाँ र्पुयाइएको छ । बियरको हकमा अस्त शुल्क ११५ प्रति लिटर कायम गरिएको छ यसअघि १०६ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्