काठमाडौं । सरकारले बजेटमार्फत मदिरा तथा सुर्तिजन्य पदार्थको राजस्व बृद्धि गरेको छ । अन्य करका दरहरु यथावत राखेपनि मदिरा र चुरोटमा लाग्दै आएको अन्तशुल्क भने बढाएको हो ।
सरकारले अन्य करका दर यथावत राखी स्वदेशी चुरोट तथा मदिरा उद्योगलाई अन्यायमा पारेको भन्दै सम्वन्धीत व्यवसायीहरुले विरोध गरेका छन् । बजेटले स्वदेशी उद्योगलाई धराशयी पार्ने काम गरेको नेपाल वेभरेज एण्ड रिग्रेट इन्ष्ट्रिज एशोसिएशनका अध्यक्ष रमेश श्रेष्ठले बताए । ‘सरकारले अन्तशुल्कका साथै त्यसका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सारदर समेत बढाएको छ,’ उनले भने, ‘यो सरकारको स्वदेशी उद्योग धरासायी पारेर आयातलाई बढावा दिने नीति हो ।’
सरकारले अन्तशुल्क र कच्चापदार्थमा भन्सारदर बृद्धि गरेसँगै चुरोट तथा मदिराको स्तर अनुसार २५ प्रतिशतसम्म मूल्य बृद्धि हुने उनको दावी छ । अहिले सरकारले सामाननै पिच्छे फरकफरक दरले राजस्व बृद्धि गरेको छ,’ उनले भने, ‘यी सामान उपभोक्तासम्म पुग्दा २५ प्रतिशतसम्म मूल्य बृद्धि हुनेछ ।’ साथै सरकारको नेपाली उद्योग धराषयी पार्ने यस्ता नीतिको विरोधमा उत्रने समेत उनले चेतावनी दिए ।