Logo

दुई कारणले घट्यो सेयर बजार, यसो भन्छन् विश्लेषक !

दुई कारणले घट्यो सेयर बजार, यसो भन्छन् विश्लेषक !


बिजखबर संवाददाता
0
Shares

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को कार्यान्वयन र तरल राजनीतिको प्रभाव परेपछि सेयर बजारको बृद्धि रोकिएको छ ।
न्युनतम १२ सय अंकको हाराहारीमा झरेको सेयर बजार चुनाव सुनिश्चित भएपछि निरन्तर उकालो लागिरहेका थियो । विश्लेषकहरुले कारोबार रकम र बजार परिसूचक दुबै घट्नुको कारण बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)को कार्यान्वयन र तरल राजनीति अवस्थालाई जिम्मेवार ठानेका छन् ।

उम्मेदवारी घोषणा भएपछि चुनाव हुन्छ भन्ने विश्वास जनमानसमा बढ्न थालेको छ । तर सरकार छोड्ने बेलामा संसद भङ्ग गरेर नयाँ संसदको चुनाव गर्ने प्रधानमन्त्रीको पार्टीले चर्चा चलाउन थालेपछि सचेत जनतामा संशय पैदा भएको छ । भित्री तयारी पहिलो चरणको चुनावपछि पनि सरकारको नेतृत्व नछोड्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको योजना रहेको बजारमा चर्चा चलेपछि यसको असर नेप्सेमा पनि देखिन थालेको छ ।

राजनीतिक विश्लेषकहरुले सहमति भए अनुसार दाहालले शेरबहादुर देउवालाई सत्ता सुम्पिने सम्भावना झिनो रहेको निश्कर्ष निकालेका छन् । जसले गर्दा राजनीतिलाई अन्योलतिर धकेलिदिने भएकाले अझै राजनीतिक अस्थिरता बढ्नेछ । सेयरका लगानीकर्ता यो जोखिमप्रति सचेत देखिएका छन् । सेयर विश्लेषकहरुको भनाइ अनुसार कारोवार रकम र नेप्से परिसुचक दुबै घट्नुको मुख्य कारण यही नै हो ।
सहायक तर प्रभावशाली कारणमा बाफिया राजपत्रमा प्रकाशित हुनु पनि हो । बाफिया कार्यान्वयनमा आएसँगै बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर ठूलो परिणत भई बजारमा आपूर्ति बढ्नेछ । अहिले पनि नेपाल राष्ट्र बैंकले निर्देशन दिए अनुरुप २०७४ असार मसान्तसम्म चुक्ता पूँजी पुर्याउन बोनस र हकप्रद सेयरका कारण आपूर्ति बढिरहेकोे छ ।

ठूलो परिमाणमा संस्थापक सेयर बजारमा आएपछि यसलाई धान्न झण्डै दैनिक ४ सय अर्ब रुपैयाँको कारोवार हुनुपर्ने विश्लेषकहरुको अनुमान रहेको छ । १ अर्ब रुपैयाँभन्दा तलको कारोवार रकमले बढेको आपूर्ति थेग्न सक्दैन र बजार तल झर्न सक्ने सम्भावना बढी छ । तथापि संविधान कार्यान्वयन भई मुलुक आर्थिक विकासको मार्गतिर लागेमा वाणिज्य बैंकको सेयर मूल्य १ हजार रुपैयाँ कायम हुनु ठूलो कुरा होइन । तर, यस्तो सकारात्मक राजनीतिक अवस्थाको सम्भावना छ त ? नेपाल जस्तो कम आर्थिक स्रोत भएको मुलुकले एक वर्षभित्रमा ३ वटा ठूला चुनाव खर्च धान्न सक्दैन । त्यसैले सकारात्मक राजनीतिक अवस्थाको अपेक्षा गर्नु मुर्खता सावित हुनेछ । सेयर बजारका चलाख लगानीकर्ताहरु यही विश्लेषणका आधारमा सेयर बेचेर घटेको बेला किन्ने रणनीतिमा देखिएका छन् । बजारको पछिल्लो प्रबृतिले यही संकेत गर्छ ।
सर्बसाधारण लगानीकर्ताहरुले यस्तो तरल अवस्थामा सुझबुझपूर्ण निर्णय गर्नु बुद्धिमानी हुनेछ । राजनीतिक तरलताकै कारणले केही समय देखि सेयर बेच्न शुरु गरेका ठूला लगानीकर्ताले अहिले पनि समयसापेक्ष सेयर विक्री गर्दै आएका छन् । सोही अनुरुप विहीबार पनि बजार ९ दशमलव २० अंकले ओरालो लागेको छ । जसमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् ।

बजारमा सबैभन्दा बढी बीमा समुहको परिसुचक ९३ अंकले ओरालो लागेको छ भने अन्य समुहको परिसुचक पनि सोही अनुरुप घटेका छन् । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार ६ सय ५३ अंकमा झरेको छ । यसैगरी कारोवार रकम पनि ७९ करोड रुपैयाँमा झरेको छ । दैनिक २ अर्ब रुपैयाँको कारोवार हुने बजारमा घट्दै ८० करोड रुपैयाँभन्दा तल खुम्चिन पुगेको छ । विहीबार दिनभर कुल १ सय ४४ कम्पनीको १२ लाख ९५ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL