Logo

बैंकको फोनले बियरिस ट्रेण्ड समाउँदै नेप्से, अस्थिर बन्दै लगानीकर्ता

बैंकको फोनले बियरिस ट्रेण्ड समाउँदै नेप्से, अस्थिर बन्दै लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर उच्च रुपमा बढाउदै लगेपछि त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । बैंकले ब्याजदर बृद्धिको सम्बन्धमा हप्तै पिच्छे फोन तथा म्यासेज गर्न थालेपछि लगानीकर्ताहरु सस्तोमै भएपनि सेयर बेचेर बैंक ऋण भुक्तानी गर्नेतर्फ केन्द्रित भएका छन् ।

बजारमा तरलता अभाव भएदेखि बैंकले ऋणीहरुलाई ४ देखि ५ पटकसम्म ब्याजदर बढेको फोन तथा म्यासेज गरिसकेका छन् । यो हप्ताको शुरुदेखि नै पुनः ब्याजदर बढेको जानकारी आउन थालेपछि लगानीकर्ताहरुले सस्तोमै भएपनि सेयर विक्री गर्न शुरु गरेका एक लगानीकर्ताले जानकारी दिए । ‘९ देखि १० प्रतिशत ब्याजमा लिएको कर्जाको अहिले बढेर १५/१६ प्रतिशत पुगिसक्यो,’ ती लगानीकर्ताले भने, ‘लामो समयसम्म बजार स्थिर रहेकाले अब घटेरै भएपनि सेयर विक्री गर्नुको विकल्प छैन ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले १२ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गर्न थालेपछि केही लगानीकर्ताले भने सेयर विक्री गरेर डिपोजिटतर्फ केन्द्रित भएका छन् । यस्तै बैंक वित्तीय संस्थाको फरदर पब्लिक अफरिङ (एफपीओ) तथा पूँजी बृद्धिका लागि हकप्रद सेयरको बाढी लाग्न थालेपछि सोका लागि रकमको जोहो गर्न समेत लगानीकर्ताहरु सेयर विक्री गर्न थालेका हुन् ।

मंगलबार देखि उच्च रुपमा घट्न शुरु गरेको नेप्से परिसुचकमा विहीबार पनि २१ दशमलव ४७ अंकले गिरावट आएको छ । बजारमा कारोवार रकम बढ्दै जाँदा परिसुचक भने ओरालो लाग्न थालेको छ । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार ३ सय ७५ अंकमा झरेर रोकिएको छ ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये बीमा समुहको परिसुचक सबैभन्दा बढी १ सय १ अंकले घट्न पुगेको छ । यसैगरी, नेप्सेमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि २३ अंकले घट्न पुगेको छ भने विकास बैंक समुहमा १८ अंकको गिरावट आएको छ । विहीबार होटल, फाइनान्स तथा जलविद्युत समुहका परिसुचक भने सामान्य ओरालो लागेका छन् ।

दिनभर कुल १ सय ३७ कम्पनीको सेयर कारोवार भएका छन् । ती कम्पनीको ५१ करोड ९२ लाख रुपैयाँ बरावरको १० लाख ५२ हजार कित्ता सेयर खरिदविक्री भएका छन् । आज पनि उच्च कारोवार कम्पनीको पहिलो स्थानमा प्रभु बैंक नै रहेको छ । प्रभुको ३ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL