काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाइँले मंगलबारदेखि औपचारिक रूपमा पदभार सम्हालेका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाइँलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनलाई मंगलबार अर्थ मन्त्रालयमा राजस्वसचिव दिनेशकुमार घिमिरेले नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।
नियुक्तिपत्र प्राप्त गरेपछि चापागाइँ नेप्से कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। गत माघ २५ गते कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नेप्सेमा सीईओको पद खाली रहेको थियो। चापागाइँको आगमनसँगै नेप्सेले नयाँ नेतृत्व पाएको छ।
झापा निवासी चापागाइँ बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव बोकेका व्यक्ति हुन्। उनले सानिमा बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका थिए भने साबिक सानिमा लाइफ इन्स्योरेन्समा नायब महाप्रबन्धकको भूमिकामा समेत कार्य गरेका थिए।
पदभार ग्रहण गरेपछि आयोजित पत्रकार सम्मेलनमा सीईओ चापागाइँले आफ्नो कार्यकालमा नेप्सेलाई प्रविधिमैत्री बनाउन विशेष ध्यान दिने बताए। उनले सेयर बजारको डिजिटल प्रविधिमा सुधार गर्दै लगानीकर्तालाई सहज पहुँच प्रदान गर्ने योजना अघि बढाउने उल्लेख गरे।
‘अहिलेको समयमा प्रविधि अनिवार्य भइसकेको छ। नेप्सेले पनि प्रविधिसँगै अघि बढ्नुपर्छ, यसको स्तरोन्नति आवश्यक छ,’ उनले भने।
चापागाइँले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। ‘लगानीकर्ताले हाम्रो पारदर्शिता हेरेर नै बजारमा विश्वास गर्छन्। हामीले उनीहरूलाई विश्वास दिन सक्नुपर्छ,’ उनले भने।
उनले ऐन–कानुनको परिधिमा रही काम गर्दै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग समन्वय गरेर सेयर बजारलाई गतिशील बनाउने बताए।
सीईओ चापागाइँले सेयर बजारलाई थप व्यापक बनाउँदै लगानीकर्तामाझ जनचेतना फैलाउने लक्ष्य राखेको बताए। ‘बजारको आकार बढ्नुपर्छ, कारोबार प्रवाह सहज हुनुपर्छ। यसले कम्पनीहरूलाई पुँजी जुटाउन मद्दत गर्छ र समग्र अर्थतन्त्रलाई टेवा पुर्याउँछ,’ उनले उल्लेख गरे।
बजारको वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पार्ने बताउँदै उनले नेपालको शेयर बजारलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।