Logo

लाइसेन्स छापिएपछि मात्रै सम्बन्धित कार्यालयमा जान यातायात विभागको आग्रह, सेवाग्राहीको मोबाईलमै एसएमएस पठाईने

लाइसेन्स छापिएपछि मात्रै सम्बन्धित कार्यालयमा जान यातायात विभागको आग्रह, सेवाग्राहीको मोबाईलमै एसएमएस पठाईने



काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रिया पूरा भएपछि मात्रै सम्बन्धित यातायात कार्यालय पुग्न सेवाग्राहीलाई आग्रह गरेको छ।

विभागले बिहीबार सूचना जारी गर्दै लाइसेन्स छपाइ भएपछि मात्र सेवाग्राहीलाई कार्यालय धाउन नपरोस् भनेर एसएमएस, विभागको आधिकारिक वेबसाइट र हेलो यातायात व्यवस्था विभाग नामक फेसबुक पेजमार्फत सूचना दिने व्यवस्था गरिएको बताएको हो । सोही सूचना र माध्यमबाट लाइसेन्स छापिएको सूचना प्राप्त भएमा मात्रै लाइसेन्स लिन जान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार पछिल्लो समय लाइसेन्स छपाइ ढिलो हुँदा सेवाग्राही हैरान भएका छन्। सूची लामो भएकाले समयमा छपाइ हुन नसकेको भन्दै सरकारले आलोचना खेपिरहेको छ। तर विभागले छपाइ प्रक्रिया छिटो टुंग्याउन आफू सचेत र गम्भीर रहेको बताएको छ।

वर्तमानमा लाइसेन्स सम्बन्धी परीक्षा, नवीकरण र रद्द गर्ने अधिकार प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयलाई दिइएको छ। तर लाइसेन्स छपाइ भने अझै पनि केन्द्रीय यातायात व्यवस्था विभागबाटै हुँदै आएको छ।

परीक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीको विवरण नागरिक एप र विभागको वेबसाइटमा देखिने गरी प्रणालीमा समेटिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

विभागले पुनः एकपटक सेवाग्राहीलाई एसएमएस वा आधिकारिक सूचना नआएसम्म कार्यालय नआउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This