काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर बजारमा कृत्रिम उतार–चढ़ाव रोक्न भोली (चैत ७) देखिनयाँ मूल्य निर्धारण प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार, बजार बन्द हुने बेलाको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई कम्पनीको अन्तिम कारोबार मूल्य मानिने छ।
हालसम्म, बजार बन्द हुने समयमा भएको अन्तिम कारोबार मूल्यलाई नै दिनको अन्तिम मूल्य मान्ने गरिएको थियो। तर, केही खेलाडीहरूले अन्तिम क्षणमा सेयर मूल्यलाई अस्वाभाविक रूपमा माथि वा तल लैजान सक्ने खेल खेलेको आरोपपछि नेप्सेले नयाँ प्रणाली ल्याएको हो। विशेषगरी, लोक्याप कम्पनीहरूमा अन्तिम मिनेटमा कृत्रिम रूपमा मूल्य वृद्धि वा गिरावट गरिने गुनासोहरू आएपछि यसलाई रोक्न नयाँ व्यवस्था गरिएको हो।
अबदेखि अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशत सीमाभित्र पहिलो कारोबार हुनेछ। साथै, यदि अन्तिम १५ मिनेट (२ः४५–३ बजे)सम्मको अवधिमा कुनै कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ। नयाँ प्रणाली लागू भएपछि, सेयर बजारमा अन्तिम सेकेन्डमा मूल्य बढाएर कृत्रिम सर्किट लगाउने प्रवृत्तिलाई नियन्त्रण गर्ने नेप्सेले जनाएको छ।