काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा कारोबारको अन्तिम १५ मिनेटको मूल्यलाई अन्तिम मूल्य निर्धारण गर्ने नयाँ व्यवस्था पारित गरेको छ। बोर्डको अघिल्लो साता बसेको सञ्चालक समिति बैठकले यस विषयमा निर्णय गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कार्यान्वयनको जिम्मेवारी सुम्पिएको हो ।
यसअघि नेप्सेले हालै आफ्नो विनियमावली परिमार्जन गर्दै अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई आधिकारिक अन्तिम मूल्य निर्धारण गर्ने प्रस्ताव बोर्डमा पेश गरेको थियो । उक्त प्रस्ताव बोर्डबाट पारित गरेर पठाईएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक निरन्जय घिमिरेले बताए । उनका अनुसार यो विधि स्वीकृत भइसकेको छ, तर यसको कार्यान्वयनको जिम्मा नेप्सेले वहन गर्नुपर्नेछ।
यस अघि सेयर बजारमा केही लगानीकर्ताले अन्तिम समयमा मूल्य हेरफेर गर्दै बजार बढाउने वा घटाउने गरेको आरोप लाग्दै आएको थियो। नयाँ व्यवस्थाले यस्तो चलखेल रोक्ने विश्वास गरिएको छ।