Logo

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै

ओम मेगाश्री फर्मास्युटिकल्सले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्दै



काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । 

यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने चैत १२ गतेसम्म म्याद थप हुनेछ ।  

ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । 

आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो ।

यो औषधि कम्पनी चितवन जिल्लास्थित भरतपुर महानगरपालिका वडा नं। २९ मा रहेको छ । आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख २६ हजार रुपैयाँ रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ७।१५ वर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्