Logo

वाइवाइको उत्पादन अव युरोपमा पनि, सर्वियाको प्लान्ट अन्तिम चरणमा

वाइवाइको उत्पादन अव युरोपमा पनि, सर्वियाको प्लान्ट अन्तिम चरणमा


बिजखबर संवाददाता
27
Shares

चौधरी समूहले युरोपेली मुलुक सर्वियामा वाइवाइको प्लान्ट स्थापना गरेको छ । यससँगै वाइवाइ चाउचाउको उत्पादन अव युरोपबाट समेत हुने भएको छ। सो प्लान्टको निर्माण अन्तिम चरणमा पुगेको समूहले जानकारी दिएको छ । समूहले अमेरिकामा समेत प्लान्ट राख्ने बारेमा अध्ययन सुरु गरिसकेको छ।

सर्वियाका प्रधानमन्त्री अलेक्ज्याण्डर भुसिकले रुमा शहरमा रहेको रुम्स्का इन्डस्ट्रियल लुपमा प्लान्टको अवलोकन गरेको समूहले जानकारी दिएको छ । सो अवसरमा चौधरी समूहका अध्यक्ष विनोद चौधरी र समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीको सहभागिता थियो । उद्योगले पहिलो चरणमा करीब ४ सय तथा उत्पादन र वितरण शुरु हुँदासम्म १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्ने समूहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
Untitled

‘वाइवाइलाई विश्वव्यापी रुपमा विस्तार गर्ने हाम्रो अभियान हो’ विज्ञप्तिमा भनिएको छ ‘ सोही क्रममा हामीले वाइवाइको विस्तार युरोपमा गरेका हौं ।’ सो भेटमा प्रधानमन्त्री भुसिकले सर्वियामा वाइवाइ प्लान्ट स्थापना गर्ने खुशीको कुरा भएको बताए । साथै विश्वव्यापी रुपमा सर्वियाको वैदेशिक लगानी विस्तारका लागि सहयोग गर्न समेत आग्रह गरे। हाल अमेरिकाका विभिन्न स्टोरहरुमा वाइवाइ चाउचाउ उपलब्ध हुने बताइएको छ ।

विश्वव्यापी रुपमा वार्षिक २ अर्ब २० करोड विक्री भैरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ । हाल नेपालमा ६ र भारतमा ८ प्लान्टमार्फत उत्पादन भइरहेको छ ।

वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका स्थापनाको तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्