काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने घोषणा गरेको छ ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने बताएको हो ।
कम्पनीको सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
‘लामिनार टायल्सलाई शतप्रतिशत भिट्रिफाइड टायल्स ब्रान्डका रूपमा बजारमा व्यापक रूपमा रुचाईएको छ,’ कम्पनीका अध्यक्ष सुब्रत धितालले भने, ‘हामीलाई विश्वास छ कि यो आईपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ । गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’
बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ ।