Logo

बोर्ड र नेप्सेको टकरावमा थिचिए लगानीकर्ता, किन अड्काइयो अनलाईन ट्रेडिङ ?

बोर्ड र नेप्सेको टकरावमा थिचिए लगानीकर्ता, किन अड्काइयो अनलाईन ट्रेडिङ ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपालको सेयर बजारलाई अनलाईन ट्रेडिङमा लैजान लामो समयदेखि गृहकार्य शुरु गरिएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालको सेयर कारोबारलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा विस्तार गरी लगानीकर्ताको सहज पुहुँच पुर्याउने लक्ष्य अनुसार अनलाईन ट्रेडिङ संचालनमा ल्याउन लागिएपनि हालसम्म यो अहिलेसम्म अन्योलमै छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. रेवतबहादुर कार्की अध्यक्ष भएर आएसँगै सेयर बजारमा लगानीकर्ताको सहज पहुँच पुर्याउने भन्दै अनलाईन ट्रेडिङ कार्यान्वयनलाई उच्च प्राथमिकता दिएका थिए । तर यो विषयमा छलफल, बहस तथा सम्बन्धित निकाय नेपाल स्टक एक्स्चेञ्जलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको बर्षौ बितिसक्दा पनि अझै अन्योलमा परेको छ ।

अनलाईन ट्रेडिङलाई तत्काल कार्यान्वयनमा ल्याउन माग राख्दै लगानीकर्ताहरु धितोपत्र बोर्ड तथा नेप्सेमा समेत ‘डेलिगेशन’ गएका छन् । तर, सो विषयमा पटक–पटक माग राख्दा पनि कुनै सुनुवाइ नभएको लगानीकर्ताहरुको आरोप छ । सोही मागलाई लिएर आजैदेखि लगानीकर्ताहरुले आन्दोलन समेत सुरु गरेका छन् ।

अनलाईन ट्रेडिङ कार्यान्वयनमा ल्याउने विषयमा धितोपत्र बोर्ड बाधक बन्दा कठिनाइ भएको नेप्सेका महाप्रबन्धक सिताराम थपलिया बताउँछन् । ‘हामीले अनलाईन ट्रेडिङ संचालनमा ल्याउन कम्पनी समेत छनोट गरेको अवस्थामा त्यसलाई बोर्डले इन्कार गर्यो,’ उनले भने, ‘हाल सो विषयमा उच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले कार्यान्वयनमा ल्याउन सकिएको छैन ।’ सो विषयको सुनुवाइमा बोर्डले पटक–पटक पेशी सार्दा निष्कर्षमा पुग्न नसकिएको उनको आरोप छ ।

कामजति धितोपत्र बोर्डले रोकेर दोष जति नेप्सेलाई लगाउने काम भइरहेको समेत उनको आरोप छ । ‘बैंकलाई ब्रोकर लाइसेन्स दिनका लागि पनि अनलाईन ट्रेडिङ संचालनमा ल्याउनु आवश्यक छ,’ उनले भने, ‘तसर्थ नयाँ प्रविधिको अनलाईन सफ्टवेयर नराखेसम्म ब्रोकरलाई लाइसेन्स दिन सकिँदैन ।’ हाल बोर्डले अप्ठ्यारो पर्ने ठाउँमा नेप्सेलाई दोष दिने र सहज कामको जिम्मा भने आफुले लिने गरेको उनको आरोप छ । अनलाईन ट्रेडिङ संचालनमा ल्याउन बोर्डले आफुहरुलाई अहिलेसम्म निर्देशन नदिएको समेत उनको बताए ।

निर्देशन दिने निकाय धितोपत्र बोर्ड भने अनलाईन ट्रेडिङ संचालनमा ल्याउनका लागि आफुहरुले कुनै बाधा अड्चन नगरेको बताउँछ । नेप्सेलाई अनलाइन ट्रेडिङ संचालनका अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको टेस्टेड सिस्टमको सफ्टवेयर ल्याउन पत्राचार गरिएको बोर्डका कार्यकारी दिर्नेशक तथा प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘मैले नै हस्ताक्षर गरेर अनलाईन ट्रेडिङ संचालन गर्न नेप्सेलाई पत्राचार गरेको छु,’ उनले भने, ‘तर, नेप्सेले आफुले भनेको जस्तो नभएकाले रोकेर बसेको छ ।’ नेप्सेले आफु बच्नका लागि बोर्डलाई दोस लगाएको उनको आरोप छ ।

नेप्सेले लोकल सफ्टवेयर राखेर अनलाईन ट्रेडिङ संचालन गर्न लागेकाले आगामी दिनमा सेयर बजारमा विदेशी लगानीसमेत भित्र्याउनु पर्ने भएकाले सोही अनुरुपको सफ्टवेयर राख्न निर्देशन दिएको गिरीको भनाइ छ । ‘कुन कम्पनीको र कस्तो खालको सफ्टवेयर राख्ने भन्ने जिम्मा नेप्सेकै हो,’ उनले भने, ‘तर, आगामी दिनमा सेयर बजारमा गैर आवासीय नेपाली तथा अन्य विदेशीको समेत लगानी भित्र्याउने तयारी गरिएकोले सोही अनुरुपको अन्तरराष्ट्रिय स्तरमै विश्वासिलो सफ्टवेयर प्रयोग गर्न आग्रह गरेका हौं ।’

यसैगरी नेप्सेले बाणिज्य बैंकहरुलाई ब्रोकरलाई लाइसेन्स दिने सम्बधमा तयार पारेको प्रतिवेदनको बारेमा समेत बोर्डलाई यथार्थ जानकारी नगराएको बोर्डको आरोप छ । ‘बाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिन सकिने वा नसकिने भन्ने विषयमा अध्ययन गर्न कमिटि गठन गरेको थियो,’ उनले भने, ‘तर, नेप्सेले बोर्डलाई सो विषयमा यथार्थ जानकारी नगराएर बोधार्थ मात्र दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्