Logo

पीडामा लगानीकर्ता, बजार ४३ अंकले घट्दा कारोवार ४८ करोडमा सिमित

पीडामा लगानीकर्ता, बजार ४३ अंकले घट्दा कारोवार ४८ करोडमा सिमित


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक झण्डै ३ प्रतिशतले ओरालो लागेको छ । केही समययता वियरिस ट्रेण्ड समाएको नेप्से सोमबार ४२ दशमलव ८४ अंकले ओरालो लागेको छ ।

बजारमा तरलता अभाव तथा बढ्दो ब्यादर र नेपाली व्यवसायीसँग रहेका ५ सय र १ हजारका भारतीय रुपैयाँ नसाटिने पक्काजस्तै भएपछि नेप्से झन उच्च रुपमा ओरालो लागेको हो । यसैगरी बैंक वित्तीय संस्थाले सेयर कर्जामा मार्जिङ कल गर्न थालेपछि बजारमा विक्री चाप परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

केही समय तलमाथी भएको बजारले अहिले भने पूर्ण रुपमा वियरिस ट्रेण्ड समातेको छ । बजार कम्तीमा १२ सय अंकमा झर्ने पूर्व आकलन अनुसार ओरालो लागेको एक लगानीकर्ताले बताए ।

नेप्से परिसुचक उच्च रुपमा ओरालो लाग्नुका साथै कारोवार रकममा समेत गिरावट आएको छ । जुन रुपमा कारोवार रकमा गिरावट आएको छ त्यो अहिलेको बजारमा अशुभ संकेत भएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ठूला लगानीकर्ताले बजार उच्च हुँदा नै सुरक्षित अवतरण गरेको र विशेषगरी अहिलेको मारमा साना लगानीकर्ताहरु परेका छन् ।

झण्डै ३ प्रतिशतले बजार घट्दा कारोवार रकम ४८ करोडमा सिमिति हुन पुगेको छ । बजारमा सबै समुहका परिसुच ओरालो लागेका छन् । जसमध्ये सवैभन्दा बढी बीमा समुहको परिसुचक ३ सय ११ अंकले घटेको छ । यसैगरी बजारमा सवैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ४० दशमलव ८६ अंकले ओरालो लागेको छ । विकास बैंक समुह ३३ अंकले ओरालो लाग्दा फाइनान्स समुह १९ तथा होटल ३७ र जलविद्युत समुह ४४ अंकले गिरावट आएको छ ।

सोमबार कुनै पनि कम्पनीको कारोवार साढे ३ करोड रुपैयाँभन्दा माथी जान सकेको छैन । जसमध्ये एभरेष्ट बैंकको सवैभन्दा बढी ३ करोड ५४ लाख रुपैयाँको सेयर खरिदविक्री भयो भने बैंक अफ काठमाण्डु लुम्बिनीको ३ करोड ३७ लाख रुपैयाँको सेयर कारोवार भएको छ । बजारमा दिनभर १ सय ३० कम्पनीको १५ लाख ५० हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL