काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरणीय सुधारका लागि सवारी साधनको प्रदुषण मापनमा कडा निगरानी सुरु गरेको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो फेसबुक स्ट्याटस मार्फत सवारी साधनको प्रदुषण नियन्त्रण र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी गराएका छन्।
मेयर शाहका अनुसार महानगरले वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरी कार्यान्वयनमा ल्याएको छ। यस अन्तर्गत सवारी साधनको प्रदुषण मापनका लागि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि फरक सूचक तोकिएको छ।
सन् १९८० सम्म उत्पादन भएका पेट्रोल इन्जिन सवारी साधनका लागि कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) र सन् १९८१ पछि उत्पादन भएका सवारी साधनका लागि अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) तोकिएको छ।
यसैगरी, तीन पाङ्ग्रे सवारी साधनको हकमा सन् १९९१ सम्म उत्पादन भएकामा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत र दुई पाङ्ग्रे सवारी साधनका लागि पनि यही मापदण्ड लागू गरिएको छ।
डिजेलबाट चल्ने सवारी साधनको हकमा सन् १९९४ सम्ममा उत्पादन भएकाका लागि धुवाँको घनत्व अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) र सन् १९९५ पछि उत्पादन भएका सवारी साधनका लागि अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) तोकिएको छ।
मेयर शाहले तोकिएका मापदण्डभन्दा माथि प्रदुषण देखिएमा उक्त सवारी साधन प्रदुषण मापदण्ड बाहिर पर्ने जानकारी गराउँदै, सवारीधनीहरूलाई आवश्यक मर्मत र सरसफाइ गराउन आह्वान गरेका छन्।
महानगरले ट्राफिक प्रहरीसँगको सहकार्यमा प्रदुषण मापन र निगरानी कार्य जारी राखेको छ। वातावरणीय सुधारका लागि जारी गरिएको यो कदमले प्रदुषण नियन्त्रणमा ठोस योगदान गर्ने अपेक्षा गरिएको छ।