Logo

अपत्यारीलो रुपमा महंगी नियन्त्रण, खाद्य मुद्रास्फीति २ दशमलव ६ प्रतिशतमा सिमित

अपत्यारीलो रुपमा महंगी नियन्त्रण, खाद्य मुद्रास्फीति २ दशमलव ६ प्रतिशतमा सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७३/७४ को पहिलो चार महिनामा खाद्य मुद्रास्फीति २ दशमलव ६ प्रतिशतमा सिमित भएको छ । अघिल्लो आवको सो अवधिमा खाद्य मुद्रास्फीति १२ दशमलव १ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकले यस्तो देखाएको हो । खाद्य बस्तुमा विशेषगरी घ्यू तथा तेल र दलहन तथा गेडागुडीको मूल्य घटेको छ । जसमा गत बर्षको ४ महिनामा ४१ दशमलव १ प्रतिशत रहेको घ्यू तथा तेलको मूल्य वृद्धिदर १९ दशमलव ८ प्रतिशतमा सिमित भएको छ । त्यस्तै ४४ दशमलव १ प्रतिशत रहेको दलहन तथा गेडागुडीको मूल्यबृद्धिदर २ दशमलव ३ ले घटेको छ ।

दुग्धजन्य पदार्थ तथा अण्डा, खाद्य तथा खाद्यजन्य पदार्थ, फलफूल, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेको तथ्यांकले देखाएको छ । यसको परिणाम स्वरुप अघिल्लो वर्षको तुलनामा खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति पनि ओरालो लागेको छ । ४ महिनामा गैर खाद्य मुद्रास्फीति ६ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ९ दशमलव २ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात तथा संचारको मुद्रास्फीति घटेको छ भने लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवालगायत वस्तुहरुको मुद्रास्फीति गत वर्षको तुलनामा न्यून रहेको छ । फलस्वरुप गैर–खाद्य मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा कम रहन गएको हो ।

२०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ असोज महिनामा ६ दशमलव ७ प्रतिशत रहेको थियो । २०७३ कात्तिक महिनामा ४ दशमलव ८ प्रतिशतमा ओर्लेको छ । यस्तो मुद्रास्फीति २०७३ असार महिना र २०७२ कात्तिक महिना दुबैमा १० दशमलव४ प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य तथा गैर–खाद्य मुद्रास्फीति दुबैमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको हो ।

प्रतिक्रिया दिनुहोस्