Logo

ग्रीन सिग्नल देखाउँदै नेप्से, ४९ करोडको सेयर खरिदविक्री, किन खुम्चिदैछ कारोवार रकम ?

ग्रीन सिग्नल देखाउँदै नेप्से, ४९ करोडको सेयर खरिदविक्री, किन खुम्चिदैछ कारोवार रकम ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । केही समय अघिसम्म लगातार ओरालो लागेको नेप्से परिसुचकमा पछिल्लो सयम केही सुधार आएको छ । अघिल्लो सातासम्म बजार उच्च रुपमा घटवढ भएपनि पछिल्लो हप्ता भने सामान्य मात्र तलमाथी भएको छ ।

बुधबार ६ अंकले बढेको नेप्से परिसुचक साताको अन्तिम दिन अर्थात विहीबार १३ दशमलव ९८ अंकले बढ्न गएको छ । सेयर बजारमा हरियाली छाएसँगै लगानीकर्ताको आशा पलाएको छ । तर, बजारमा कारोवार रकम नबढेकाले बजार अझै के हुने भन्ने विषयमा अन्योल रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय बजारमा साना लगानीकर्ताहरु बीच बढी कारोवार भएकाले कारोवार रकम बढ्न नसकेको एक लगानीकर्ताले बताए । ठूला लगानीकर्ताले नेप्से १८०० आसपास गुग्दा नै सेयर बेचेर बसेको र हाल उनीहरु बजारमा प्रवेश नगरेकाले कारोवार रकम बढ्न नसकेको हो । ठूला लगानीकर्ताहरु सेयर मूल्य घटेपछि मात्र किन्ने दाउमा वसेको र साना लगानीकर्ताहरु आफुसँग भएको सेयर सस्तोमा विक्री गर्न नचाहेकाले पनि बजारमा कारोवार बढ्न सकेको छैन । जसले गर्दा सेयर बजारमा अझै अन्यौलता कायम रहेको एक लगानीकर्ताको तर्क छ ।

यसैगरी पछिल्लो समय देशमा भित्रने रेमिट्यान्स घटेको र ठूला लगानीकर्ताहरु घरजग्गा कारोवारमा आकर्षित भएकाले पनि बजारमा कारोवार रकम खुम्चिरहेको हो ।

बजार उच्च बढ्दा दैनिक १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोवार हुने गरेकोमा हाल खुम्चिँदै ५० करोड रुपैयाँभन्दा तल झरेको छ । विहीबार पनि ४९ करोड ३९ लाख रुपैयाँ बरावरको मात्र सेयर कारोवार भएको छ । जसमा १ सय ३८ कम्पनीको ६ लाख ६८ हजार कित्ता सेयर मात्र खरिदविक्री भएको छ ।

विहीबार पनि बजारमा उच्च कारोवार हुने कम्पनीको अग्र स्थानमा एभरेष्ट बैंक नै रहेको छ । एभरेष्टको ८ करोड ३० लाख रुपैयाँको सेयर खरिदविक्री हुँदा अन्य कम्पनीको भने २ करोड रुपैयाँको आसपासमा रहेको छ ।

विहीबार बजारमा उत्पादनमुलक वाहेक सवै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ९३ अंकले उकालो लागेको छ । यसैगरी बजारमा सवैभन्दा प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि १३ दशमलव ५३ अंकले बढ्न गएको छ ।

बजारमा विकास बैंक समुह २० अंकले बढ्दा होटल समुह ३३ दशमलव ८८ अंकले उकालो लागेको छ । अरु समुहका परिसुचक भने सामान्य बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL