काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन, र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मंसिर २१ गते चितवनको जगतपुरमा आयोजित कार्यक्रममा नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयमा गहन छलफल गरिएको थियो।
कार्यक्रममा प्रदेशहरूको संरचनालाई कसरी अघि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधन, खुला सीमाबाट सिर्जित समस्याहरू, व्यवसायीहरूको पुरानो स्टक व्यवस्थापन, नाडाको इतिहासलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने, नाडाको सदस्यता लिंदा प्रदेशबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान, नाडाबाट उठेको रकम प्रदेशलाई सहयोग गर्ने प्रक्रिया, सवारी साधन आयातकर्ता र डिलरहरू बीचका समस्याहरू, आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको प्रभाव, सेकेन्ड ह्यान्ड अटोमोवाइल पार्ट्स व्यवस्थापन, भन्सार मूल्याङ्कनसम्बन्धी समस्या, र चितवन अटोमोवाइल डिलर्स एशोसिएशनले आयोजना गर्ने अटो एक्सपोको विषयमा छलफल भएको थियो।
कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा देखा परेका चुनौतीहरूको समाधानका उपायबारे विशेष चर्चा गरे । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, र अन्य केन्द्रीय कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। त्यस्तै, चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलबहादुर क्षेत्री, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, र हेटौंडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषि ढकालसहित अन्य प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रमको सञ्चालन नाडाका केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालले गरेका थिए । मोडरेटरको भूमिकामा सुनिल रिजाल थिए। ३९ जनाको सहभागितामा सम्पन्न भएको यस कार्यक्रमले नाडा र प्रादेशिक एशोसिएशनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। नाडाले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।