Logo

आर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने

आर्थिक चलखेलमा वर्षमानले अड्काएको सेबोन अध्यक्षको गाँठो विष्णुले यसरी फुकाए, ११ महिना देखि रोकिएका काम अघि बढ्ने



काठमाडौं । लामो समयको रस्साकस्सीका बीच ११ महिनापछि सोमबार (हिजो) नेपाल धितोपत्र बोर्डले नेतृत्व पाएको छ । ६३ लाखभन्दा बढी लगानीकर्ता संलग्न नेपालको पुँजी बजारमा अध्यक्ष पद रिक्त हुने वित्तिकै नियुक्त गर्नुपर्ने भएपनि तत्कालिन अर्थमन्त्री वर्षमान पुन बार्गेनिङमा लाग्दा रोकिन पुगेको थियो ।

वर्षमान पुनले आफुले भनेको जस्तो गरी आर्थिक चलखेलमा सेबोन अध्यक्ष नियुक्त गर्न नपाएपछि उम्मेदवारलाई अन्तरवार्तामा आउन रोक्ने देखि नियुक्ति प्रक्रिया नै खारेजसम्मको हर्कत देखाए । जसका कारण नेपालीको पुँजी बजार अस्तव्यस्त बन्न पुगेको छ भने आईपीओ ल्याउन नपाउँदा निर्माणाधिन जलविद्युत आयोजनाहरु अलपत्र अवस्थामा छन् । हाल बोर्डमा ६६ वटा कम्पनीहरु आईपीओको पर्खाइमा रहेका छन् । पुनकै कारण लामो समयदेखि बोर्डले नेतृत्व नपाउँदा यसले लगानीकर्तालाई निराश बनाउनेदेखि आयोजना निर्माण अघि बढाएका प्रवद्र्धकहरुले आईपीओ जारी गरेर थप रकम संलन गर्न नपाउँदा त्यस्ता आयोजनाको निर्माणकार्य नै ठप्प हुने अवस्थामा पुगेको छ ।

तर लामो समयदेखि विभिन्न बहानामा रोकिएको अध्यक्ष नियुक्ति प्रक्रिया नयाँ सरकार गठनसँगै अर्थमन्त्री विष्णु पौडेलले प्राथमिकताका साथ अघि बढाए । उनले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार नै पुरानै प्रक्रियाबाटै अध्यक्ष नियुक्ति गर्न लामो कसरत गरे । बर्षमान पुनले पटक पटक अन्तरवार्तामा आउन रोकेका उम्मेदवारहरुलाई पौडेलले सहजिकरण गर्दै अन्तरवार्तामा ल्याउन सफल भए । पुनले अन्तरवार्तामा आउन रोकेका ३ उम्मेदवारमध्ये आईतबार भएको अन्तरवार्तामा कृष्ण बहादूर कार्की र डा. नवराज अधिकारी उपस्थित भए । नियम अनुसार तीन जनाको नाम सिफारिस गरेर सोमबारको मन्त्रिपरिषद बैठकले त्यसलाई पूर्णता दिँदै सन्ताेषनारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्याे ।

अर्थमन्त्री विष्णु पौडेल सेयर बजारसँग पर्यायवाची नै भैसकेका थिए । उनी अर्थमन्त्री भएसँगै सेयर बजारले पटक पटक नयाँ उचाई चुम्दै आएको थियो । यसअघि उनी दुई पटक अर्थमन्त्री हुँदा सेयर बजार अलटाईम हाईमा पुगेको थियो । यसपटक पनि उनी अर्थमन्त्री भएसँगै नेप्से परिसुचक करिव ८ सय अंकले बढेको थियो । तर, बर्षमान पुनले लामो समयदेखि अनिर्णयको बन्दी बनाएर राखेका कारण बजार तत्काल सुधार गर्न कठिन हुने अवस्थामा पुगिसकेको थियो । अध्यक्ष नियुक्त नहुँदा दिर्घकालिन असर पर्ने निर्णय गर्न नमिल्ने तथा आइपीओसमेत रोकिएका कारण बजार चलायमान हुन सकेको थिएन । जसका कारण बजार ३ हजार अंकबाटै ओरालो यात्रामा झर्यो ।

अब बोर्डले अध्यक्ष पाएसँगै सुधारका काम अघि बढ्ने र त्यसले सेयर बजारपनि बढ्न पुग्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘तत्कालिन अर्थमन्त्री वर्षमान पुनले आफ्नो स्वार्थमा सेबोन अध्यक्ष नियुक्ति प्रक्रियालाई रोक्दा लगानीकर्ताको मनोविज्ञान नै नकारात्मक बन्न पुगिसकेको थियो,’ एक लगानीकर्ताले भने, ‘अहिलेको सरकार लामो रस्साकसीबीच अध्यक्ष नियुक्त गर्न सफल भएको छ अब बजारले गति लिनेछ ।’

प्रतिक्रिया दिनुहोस्