काठमाडौं । दुई ब्रोकर एशोसिएशन एक भएसँगै सर्वसम्मतिमै नेतृत्व चयन हुने भएकाे छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपाल र स्टक ब्रोकर एशोसिएसन नेपाल एक आपसमा मर्जर भएर स्टक ब्रोकरको नामबाट संस्था भएसँगै आगामी कार्यकालका लागि सर्वसम्मतिमै नेतृत्व चयन गर्न लागेका हुन् ।
यसअघि बजारमा एशोसिएसनका पूर्व अध्यक्ष नरेन्द्र सिजापति पनि अध्यक्षमा चुनाव उठ्ने भन्दै हल्ला फैलाइएको थियो । तर, उनले आफु पूर्व अध्यक्ष भएको नाताले संस्थामा सर्वसम्मतिमा नेतृत्व ल्याउन पहल मात्रै गरेको र आफु उम्मेदवार नरहेको स्पष्ट पारेका छन् ।
‘म पूर्व अध्यक्ष भएको नाताले सर्वसम्मतिमा नेतृत्व चयन होस भनेर पहल मात्रै गरेको हुँ, तर म उम्मेदवार होइन,’ उनले भने, ‘अरुले बजारमा के हल्ला गर्छन मतलब भएन तर म अध्यक्षको उम्मेदवार होइन यसमा स्पष्ट छु ।’ साथै अहिले अध्यक्षको २/३ जना आकांक्षी रहेको र उनलीहरुलाई मिलाएर सर्वसम्मतिमा नेतृत्व चयनका लागि पहल गरिएको समेत जानकारी दिए ।
यसअघि उक्त संस्था एक आपसमा मर्जर भएसँगै नयाँ नेतृत्व चयनका लागि यहिँ मंसिर २० र २१ गतेका लागि साधारण सभा आब्हान गरिएको छ । तर उक्त साधारणसभा अघि नै सर्वसम्मतिमा नेतृत्व चयन गर्नेगरी अहिले देखिनै छलफल अघि बढाइएको उक्त स्रोतले जानकारी दिएको छ । ‘दुई संस्था एक आपसमा मर्ज भएसँगै कसरी नेतृत्व चयन गर्ने भन्ने सम्बन्धमा गहन छलफल भइरहेको छ,’ उक्त स्रोतले भन्यो, ‘छलफलबाटै नयाँ र पुराना ब्रोकरबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुको संख्या टुङ्गो लगाइने छ ।’
हाल स्टक ब्रोकर एशोसिएसनमा ५ पदाधिकारी सहित ९ सदस्यीय कार्यसमिति रहेको छ । जसमा नयाँबाट दुई पदाधिकारी र दुई सदस्य सहित चार जना कार्यसमितिमा सहभागि हुने छन् भने पुरानाबाट तीन पदाधिकारी र दुई सदस्य सहित पाँच जना कार्यसमितिका सहभागि हुनेगरी सहमति भएको समेत ती सदस्यले जानकारी दिए । तर, को कुन पदमा हुने भन्ने विषयमा भने सहमति नभईसकेको समेत ती सदस्यको भनाई छ ।
‘हाम्रो अहिलेको माग भनेको एशोसिएसनमा कसले प्रतिनिधित्व गर्ने भन्दा पनि ब्रोकर तथा लगानीकर्ताको हकहितमा काम गर्नका लागि सरकारसँग लबिङ गरेर व्यवसायीमैत्री कानून निर्माण हो,’ ती ब्रोकरले भने, ‘सोही अनुरुप संस्थालाई समय दिएर उक्त काम गर्न सक्ने व्यक्तिलाई अघि बढाएर सबै एक भएर सर्बसम्मतिमा कार्यसमिति चयन गर्दैछौं ।’