काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई मध्यमस्तरिय करदाता कार्यालयले विशेष अन्तरक्रिया कार्यक्रममा सम्मान गरेको छ। गत हप्ता आयोजित कार्यक्रममा प्रमुख कर प्रशासक पार्वती शर्माले सिटी एक्सप्रेसका अध्यक्ष चन्द्र टण्डनलाई सम्मान प्रदान गरेकी हुन् ।
सम्मान कार्यक्रममा शर्माले समयमै कर तिर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्दै सिटी एक्सप्रेसले अन्य करदाताका लागि उदाहरणीय भूमिका खेलेको बताईन् । साथै, कर शिक्षा, वक्यौता असुली, र आर्थिक ऐन २०८१ का सुविधाहरूको विषयमा समेत छलफल गरिएको थियो। शर्माले अन्य सबै करदातालाई पनि समयमै कर तिर्ने र इमानदार करदाताको पहिचान बनाउन आग्रह गरिन् ।
अध्यक्ष टण्डनले कर तिर्नु दायित्व मात्र नभई कर्तव्य भएको र यसले पारदर्शिताको वातावरण सिर्जना गर्दै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए । साथै, मध्यमस्तरिय करदाता कार्यालयको व्यवसायमैत्री सम्बन्धका लागि धन्यवाद व्यक्त गरे ।
आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार सिटी एक्सप्रेसले रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी कर बुझाएको छ। यसै कारण, कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो।
मंसिर १ गते शनिबार राष्ट्रिय कर दिवस–२०८१ का अवसरमा आन्तरिक राजस्व विभागले पनि सिटी एक्सप्रेसलाई आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने र राष्ट्रिय विकासमा योगदान पुर्याउने कम्पनीका रूपमा सम्मान गरेको थियो।
सिटी एक्सप्रेसले १८ वर्षदेखि नेपालमा रेमिट्यान्स सेवा प्रदान गर्दै संसारभरबाट पैसा भित्र्याउँदै आएको छ। हालै, कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ, जसबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने सुविधा उपलब्ध गराएको छ।