काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ। १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा आयोजित विशेष कार्यक्रममा कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो। प्रमुख कर अधिकृत भूपालराज शाक्य र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गरे।
नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार विसं २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सहज र झन्झटमुक्त हायर पर्चेज सेवा उपलब्ध गराउँदै आएको छ। एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीका रूपमा स्थापित यस संस्थाले विशेष गरी साना तथा मझौला उद्यमीहरूका लागि व्यावसायिक सवारीसाधन र भारी उपकरणहरूको फाइनान्सिङ सेवा प्रदान गर्दै उनीहरूको वित्तीय लक्ष्य हासिल गर्न सहयोग पुर्याउँदै आएको छ।
उद्योग, व्यवसाय, र ग्राहकहरूबीच विश्वास निर्माण गर्दै आएको यस कम्पनीले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेर आफ्नो करदाताको दायित्वप्रति समर्पित रहेको सन्देश दिएको छ।