काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा मात्रै नेपालमा झण्डै साढे ३ हजार विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म ३ हजार ४ सय ८७ विद्युतीय कार आयात भएका हुन् । यसमार्फत नेपालको ८ अर्ब ३७ करोड रुपैयाँ बढी बाहिरिएको छ । यस अवधिमा सबैभन्दा बढी ५१ देखि १ सय किलोवाट क्षमताका विद्युतीय कारहरु भित्रिएको विभागले जानकारी दिएको छ ।
विभागका अनुसार यस अवधिमा ५ अर्ब ४२ करोड रुपैयाँ बराबरका २ हजार १ सय १५ ओटा विद्युतीय कारहरु आयात भएको देखिन्छ । यस्तै यसै अवधिमा १ अर्ब ८८ करोड रुपैयाँ बराबरका १ हजार ५० ओटा ५० किलोवाटसम्म क्षमता भएको विद्युतीय गाडीहरु आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आवको ४ महिनामा १ सय १ देखि २ सय किलोवाट क्षमताका ३ सय १६, २ सय १ देखि ३ सय किलोवाट क्षमताका ४ र ३ सय किलोवाट माथि क्षमता भएका २ विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यी गाडीमार्फत नेपालले पछिल्लो ४ महिनामा ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।