काठमाडौं । चीनको अटोमोबाइल निर्माता बीवाईडीले नेपालमा १०० वटा नयाँ विद्युतीय सवारीसाधन (ईभी) वितरण गरेको छ। बीवाईडी र साइमेक्स मोटर्सले नेपालमा १०० वटा विद्युतीय कार वितरण गर्दै एक विशेष कार्यक्रम आयोजना गरेका छन्। यो घटनाले नेपालको हरित ऊर्जा क्षेत्रलाई टेवा पुर्याउने मात्र नभई विद्युतीय सवारीसाधनप्रतिको आमचासोलाई पनि बलियो बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बीवाईडीका अधिकारीहरूले नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गइरहेको बताएका छन्। बीवाईडीका विद्युतीय गाडीहरु नयाँ प्रविधि, लामो दूरी र सहज प्रयोगको कारण उपभोक्तामाझ लोकप्रिय हुने विश्वास व्यक्त गरिएको छ। बीवाईडीका अधिकारीका अनुसार, विद्युतीय सवारीसाधनको सफल वितरणले नेपालमा हरित ऊर्जा क्षेत्रमा नयाँ चरण सुरुवात गरेको छ।
बीवाईडीले यस अवसरमा आफ्ना एट्टो ३, डल्फिन र सिल जस्ता विभिन्न मोडलका विद्युतीय गाडी प्रदर्शन गरेको थियो। यी गाडीहरु अत्याधुनिक प्रविधि, आरामदायक डिजाइन र उच्च कार्यक्षमताका कारण उपभोक्तामाझ लोकप्रिय हुने अनुमान गरिएको छ। साथै, नेपालका लागि यी विद्युतीय सवारीसाधनले वातावरणीय प्रभाव कम गर्दै उन्नत जीवनशैलीमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साइमेक्स मोटर्सका प्रतिनिधिहरुले बीवाईडी र साइमेक्सको साझेदारीले नेपालमा विद्युतीय सवारीसाधनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। उनीहरूका अनुसार, विद्युतीय सवारीसाधनले परम्परागत इन्धनमा निर्भरता घटाउने मात्र नभई स्वच्छ र दिगो यातायात प्रणालीको विकासमा समेत सहयोग गर्नेछ।
कार्यक्रममा उपस्थित अधिकारीहरुले यो उपलब्धिले नेपालको हरित ऊर्जा तथा दिगो विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताएका छन्। उनीहरूका अनुसार, विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि हुनु नेपालको ऊर्जा खपतलाई दिगो बनाउनको लागि महत्वपूर्ण कदम हुनेछ।