काठमाडौं । दुबईमा मिडिल इस्ट अर्गानिक प्रोडक्ट एक्स्पो २०२४ सम्पन्न भएको छ । मंसिर ३ गतेदेखि आयोजना गरिएको ३ दिने उक्त एक्स्पो बुधबार सम्पन्न भएको हो । एक्स्पोमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ मातहतका १२ स्टलहरु समावेश गरिएको थियो । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तर्गत ३३ जना उद्योगी व्यवसायीहरुले स्टलमा आफ्ना उत्पादनहरु प्रदर्शनमा राखेका थिए ।
एक्स्पोको उद्घाटनमा दुवईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री, महासंघका उपाध्यक्ष हेमराज ढकाल महासंघ कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतलगायत महासंघका केन्द्रिय सदस्यहरु कमला श्रेष्ठ, नरेश लाल श्रेष्ठ एवं दिपक नेपाल लगायतको उपस्थिती थियो ।
दुवईको वर्ल्ड ट्रेड सेन्टरमा तीन दिन सम्म चलेको मेलामा अवलोकनकर्ताहरुको सबैभन्दा आकर्षणको केन्द्रमा नेपाल पेभेलियन रहेको महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए । उनका अनुसार नेपाल पेभेलियनमा चिया, कस्मेटिकका सामग्रीहरु, यार्सागुम्बा, डेरीका उत्पादन, अलैँचीलगायतका वस्तुहरु प्रदर्शनमा राखिएको थियो ।
नेपाली उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि राखिएका स्टलहरुमा नै धेरै अवलोकनकर्ताहरुको आकर्षण देखिएको उनको भनाई छ । ‘धेरैजसो अवलोकनकर्ताहरु नेपाल पेभेलियनमै आएर अवलोकन गरिएको देखियो,’ उनले भने, ‘समग्रमा उक्त एक्स्पो नेपाली उद्यमीहरुका लागि फलदायी सावित भयो ।’
एक्स्पोमा दुवई वर्ल्ड ट्रेड सेन्टरका उपाध्यक्ष बुट्टी साइद एआई घानीले पनि ले नेपाल पेभेलियन अवलोकन गरी नेपाली उत्पादनहरुको बारेमा जानकारी लिएका थिए ।
मिडिल इस्ट अर्गानीक एण्ड नेचुरल प्रोडक्ट एक्स्पो विगत २२ वर्षदेखि अर्गानिक तथा प्राकृतिक उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि आयोजना गरिने व्यापार मेला हो । यस मेलाले विश्वस्तरमा अर्गानीक तथा प्राकृतिक उत्पादनहरुको आपूर्तिकर्ताहरूलाई त्यसका खरिदकर्ताहरूसँग सम्पर्क विस्तार गर्ने कार्यमा सहयोग गर्ने गर्दछ ।
मेलामा खाद्य र पेय पदार्थ, स्वास्थ्य, सौन्दर्य, जीवन र वातावरणसँग सम्बन्धित वस्तुहरु प्रर्दशनीमा राखिन्छ ।
मेलामा संसारभरीका उद्यमी, बिक्रेता, खरिदकर्ताहरु सहभागि भएका थिए । साथै उक्त मेलामा यसपाली खाडीलगायत अन्य क्षेत्रका १० हजार भन्दा बढी बीटुबी आयातकर्ता, पुनः आयातकर्ता, खुद्रा बिक्रेता, वितरक, थोक बिक्रेता साथै ३५ हजार बढी अरेबियन अर्गानिकका खरिदकर्ता सहभागी भएका थिए ।
नेपालबाट नेपाल पेभेलियन अन्तर्गत अलैँची, चिया, कफि, जडिबुटी, सौन्दर्य सामाग्री, टिमुर, लप्सी क्यान्डी, मह, डेरी, हस्तकला, सुगन्धित तेल, रुद्राक्ष लगायतका वस्तुहरु प्रदर्शनी गरिएको थियो ।